सुदूर नेपाललाई विश्वसँग जोड्दै

भद्रगोलको नयाँ एपीसोड : यूट्यूव च्यानलमा लाइकभन्दा डिस्लाइक बढी

२०७६ भदौ २२, ०३:५० खबर संवाददाता

नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आयो। तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको भने देखिएन। भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो। नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) र अशोक धिताल (बाहुन डन)ले लिएका छन्।

गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरता जस्तो गरी बुनिएको छ। तर, दर्शकलाई बाँधेर राख्ने खालको कथावस्तु छैन। साथै, पुरानो टिमका कोही पनि नहुँदा दर्शक निराश बनेका हुन्। यूट्यूवमा भद्रगोलको उक्त एपीसोड छैटौं नम्बरमा ट्रेन्डिङ छ। यसले झण्डै सात लाख भ्यूज पनि पाएको छ। तर, उत्पादकका लागि चिन्ताको विषय के भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन्। अहिले यूट्यूवमा सो एपीसोडमा १६ हजार लाइक र १९ हजार डिसलाइक देखिएका छन्।

यति मात्र होइन, यसमा आएका ११ हजार भन्दा बढी प्रतिक्रियाहरुमध्ये अधिकांश नकारात्मक छन्। अधिकांसले पुरानो टिमलाई फर्काउने माग गरेका छन्। कतिपयले अब भद्रगोल नहेर्ने घोषणा पनि गरेका छन्। (यो समाचार अनलाईन खबरबाट साभार गरिएको हो।)

उत्पादक मिडिया हवसँग विविध विषयमा कुरा नमिल्दा जिग्री–पाँडेको समुह भद्रगोलबाट अलग भएको हो। उनीहरुले समयमा पैसा नपाएको गुनासो गरेका छन् भने कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेका छन्। मिडिया हब यसमा सहमत छैन।

यसअघि भद्रगोलका अधिकांश एपीसोडहरु ट्रेन्डिङमा पहिलो नम्बरमा आउने गरेका थिए। तर, पुरानो टिम तितरवितर भएपछि मिडिया हबलाई यसको लोकप्रियता कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ।

कमेन्ट लोड गर्नुस