सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कनरी पार्क नीजि क्षेत्रलाई दिने तयारी भएपछि स्थानीयको विरोध

२०७६ भदौ २२, ०६:५२ खबर संवाददाता

सघन सहरी विकास कार्यक्रम अन्तरगत धनगढीमा पौने तीन करोडको लागतमा निर्माण गरिएको कनरी पार्क नीजि क्षेत्रलाई दिने तयारी भएपछि स्थानीयले विरोध जनाएका छन्। १० बर्षका लागि पार्क सञ्चालन गर्न एकै पटक नीजि क्षेत्रलाई दिने तयारी भएको भन्दै स्थानीयले विरोध जनाएका हुन्।

यस्तै पार्क निर्माण अघि स्थानीय नमूना वन उपभोक्ता समितिसंग लिखित र मौखिक रुपमा भएका सम्झौता पनि लत्याईएको आरोप लागेको छ। पार्क सोही सामुदायिक वनको जग्गामा निर्माण गरिएको छ। 

शनिवार पार्कमै बसेको वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी कैलाको अध्क्षतामा बसेको बैठकले पार्क निर्माण गर्दा लिखित र मौखिक रुपमा भएका सम्झौता कुनै पनि कार्यान्वयन नगरिएको भन्दै विरोध जनाईएको छ।

पार्क निर्माण गर्दा उपभोक्ता समितिसंग सहजीकरण गर्ने, १० देखि १२ विगाह क्षेत्रफलमा पार्क निर्माण गर्ने, बाँकी वन क्षेत्रलाई पूर्ण रुपमा तारवार गर्ने, वन र पार्क क्षेत्रको वरीपरि बाटो निर्माण गर्ने, घास र दाउरा उपभोक्तालाई दिने, पार्कमा कर्मचारी भर्ना गर्दा उभोक्तालाई प्राथमिकतामा राख्ने, केही प्रतिशत पार्कको स्वामित्व स्थानीय उपभोक्तालाई दिने, पार्क भित्र खानेपानीको व्यवस्था गर्ने, स्थानीय समुदायको मन्दिर पार्क भित्र नै भएकाले मन्दिरमा निशुल्क प्रवेश गर्न दिने लगायतका सम्झौता भएको वन उपभोक्ता समितिले दावी गरेको छ। तर अहिले सम्म कुनै पनि सम्झौता कार्यान्वयन नगरिएको दावी गरिएको छ। 

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ कनरीमा पार्कको निर्माण सम्पन्न भएको साढे सात महिना पुगिसकेको छ तर अहिले सम्म हस्तान्तरणको प्रक्रिया अगाडी बढेको छैन्। सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले सघन सहरी विकास कार्यक्रम अन्तरगत उक्त पार्क बनाएको थियो।

उक्त पार्क भित्र दुई वटा पोखरी, तीन वटा बनभोज स्थल, मन्दिर लगायतका रमणीय संचनाहरु निर्माण गरिएको छ। यता उप–महानगरपालिका भने स्वामित्व ग्रहण नगर्दै एकै पटक १० बर्षका लागि नीजि क्षेत्रलाई पार्क सञ्चालनको जिम्मेवारी दिन आसय पत्र प्रकाशन गरेको थियो। 

कमेन्ट लोड गर्नुस