सुदूर नेपाललाई विश्वसँग जोड्दै

मझगाउँ विमानस्थलको रनवेमाथिको विद्युत् लाइन हटाउन संघर्ष समितिको दबाब

२०८३ असार २९, ०५:३२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्गमाथि रहेको विद्युत् प्रसारण लाइन हटाउन माग गर्दै मझगाउँ विमानस्थल पुनः सञ्चालन संघर्ष समितिले सोमबार नेपाल विद्युत् प्राधिकरण, महेन्द्रनगर वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको छ।

समितिका संयोजक तथा पूर्व डिभिजन वन अधिकृत (डीएफओ) रमेश चन्दको नेतृत्वमा पुगेको टोलीले वितरण केन्द्रका प्रमुख इन्जिनियर सन्तोष श्रेष्ठलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै रनवेमाथिको विद्युत् लाइन यथाशीघ्र स्थानान्तरण गरी विमानस्थल सञ्चालनको बाटो खुला गर्न आग्रह गरेको हो।

समितिका अनुसार पटक–पटक ध्यानाकर्षण गराउँदा पनि विद्युत् लाइन हटाउने काम अघि नबढ्दा निर्माण कार्य र परीक्षण उडान प्रभावित भएका छन्। हाल विमानस्थलको करिब ७५ प्रतिशत निर्माण सम्पन्न भइसके पनि रनवेमाथिको विद्युत् लाइन बाँकी कामको प्रमुख अवरोध बनेको समितिको भनाइ छ।

संघर्ष समितिका सचिव राजेन्द्रबहादुर चन्दले स्थानीयवासीले लामो समयदेखि विमानस्थल पुनः सञ्चालनका लागि निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अब पनि समस्या समाधानमा ढिलाइ भए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिए।

यता नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख इन्जिनियर सन्तोष श्रेष्ठले विमानस्थल क्षेत्रबाट विद्युत् प्रसारण लाइन स्थानान्तरणका लागि सम्बन्धित विभागमा आवश्यक पत्राचार भइसकेको जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०८३/८४ भित्र उक्त कार्य सम्पन्न गर्ने लक्ष्यसहित विभागबाट निर्देशन प्राप्त भएको छ भने बजेट सुनिश्चित भएपछि स्थानान्तरण प्रक्रिया अघि बढाइनेछ।

करिब आठ दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल स्थानीयवासीको लामो प्रयासपछि पुनर्निर्माणको चरणमा पुगेको छ। निर्माण कार्यलाई समयमै सम्पन्न गरी विमानस्थल सञ्चालनमा ल्याउन विद्युत् प्रसारण लाइन हटाउने कार्यलाई उच्च प्राथमिकतामा राख्न संघर्ष समितिले सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। माग बेवास्ता गरिए थप दबाबमूलक आन्दोलनका कार्यक्रम अघि बढाइने समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस