डडेलधुरा पूर्ण खोप सुनिश्चित
डडेलधुराः डडेलधुरालाई पुनः पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।
जिल्ला पूर्ण खोप समन्वय समिति र स्वास्थ्य कार्यालय डडेलधुराको आयोजनामा शनिबार आयोजित कार्यक्रममा जिल्लालाई पुनः पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी र स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशरबहादुर साउदलाई हस्तान्तरण गरेका थिए।
स्वास्थ्य कार्यालय प्रमुख केशरबहादुर साउदका अनुसार डडेलधुरा पहिलो पटक २०७२ पुस १० गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको थियो। त्यसयता प्रत्येक वर्ष नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ। चालु आवमा आवश्यक प्रक्रिया पूरा गरी पुनः जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको उनले बताए।
सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हाल १३ वटा रोगविरुद्ध १४ प्रकारका खोप निःशुल्क उपलब्ध गराइँदै आएको छ। जिल्लाभर रहेका १०६ खोप केन्द्रमार्फत प्रत्येक महिनाको २ देखि ८ गतेसम्म नियमित खोप सेवा सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालय प्रमुख केशर साउदले जानकारी दिए।
२०८२ माघदेखि चैतसम्म गरिएको घरधुरी सर्वेक्षणमा १५ महिनासम्मका दुई हजार १४५ बालबालिकामध्ये कुनै पनि शून्य डोजमा नभेटिएको तथा ३१ जना ड्रपआउट बालबालिका पहिचान गरिएको उनले बताए। त्यस्तै १६ देखि २३ महिनासम्मका एक हजार ३६९ बालबालिकामध्ये तीन जना शून्य डोज र ३४ जना ड्रपआउट बालबालिका भेटिएका थिए । उहाँले पहिचान भएका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोप लगाएपछि जिल्लालाई पुनः पूर्ण खोप सुनिश्चित कायम गरिएको बताए।
यस वर्ष सबैभन्दा पहिले आलीताल गाउँपालिकाले गत जेठ १९ गते र अन्तिममा अजयमेरु गाउँपालिकाले असार १३ गते पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेका थिए। त्यसपछि प्रदेशस्तरीय अनुगमन तथा प्रमाणीकरण प्रक्रिया पूरा भएपछि जिल्लास्तरीय घोषणा गरिएको कार्यालय प्रमुख साउदले जानकारी दिए।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले पूर्ण खोप सुनिश्चित सबै सरोकारवालाको साझा प्रयासको परिणाम भएको बताए। उनले स्वस्थ आमा र बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप सबैभन्दा प्रभावकारी माध्यम भएकाले यसको निरन्तरता आवश्यक रहेको उल्लेख गरे।