गणेश नेपालीको निधन प्रकरणमा धनगढीमा विरोध सभा, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
धनगढी: गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर सामाजिक न्यायका लागि दलित गोलमेच अभियानले आइतबार धनगढीमा विरोध सभा आयोजना गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि आयोजित विरोध सभामा सहभागीहरूले गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य पारिएको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान, दोषीलाई कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका हुन्।
गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर देशभर आलोचना र विरोध भइरहेका बेला सुदूरपश्चिममा पनि विभिन्न संघ–संस्थाले आवाज उठाउन थालेका छन्। विरोध सभालाई सम्बोधन गर्दै पूर्व सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। उनले राज्यको गैरजिम्मेवार व्यवहारका कारण यस्ता दुःखद घटना हुन पुगेको आरोप लगाउँदै पीडितलाई न्याय दिलाउन सबै दलित समुदाय एकजुट हुनुपर्ने बताए।
रैकाले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, दोषीमाथि कडा कारबाही हुनुपर्ने र पीडित परिवारलाई न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले सुकुम्बासी समस्याप्रति सरकार उदासीन बनेको आरोपसमेत लगाए।
विरोध सभामा सहभागीहरूले महानगर प्रहरीको भूमिकामाथि निष्पक्ष अनुसन्धान गर्न माग गर्दै यस्ता घटनाले विशेषगरी युवा पुस्तामा नकारात्मक प्रभाव पार्ने भएकाले राज्य जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए। विरोध सभामार्फत सरकारको ध्यानाकर्षण गराउँदै न्यायका लागि संघर्ष जारी रहने चेतावनीसमेत दिइएको छ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली काठमाडौंमा पठाओ चालकका रूपमा कार्यरत थिए। मोटरसाइकल पार्किङका विषयमा महानगर प्रहरीसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको थियो। उनको निधनपछि देशभर शोक व्यक्त गरिनुका साथै
घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्।