कैलालीमा भन्सार छलीका ४३ हजारभन्दा बढी मूल्यका सामान बरामद
कैलाली: कैलाली प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ।
शनिबार दिउँसो कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट अवैध रूपमा भित्र्याइएका अन्दाजी ४३ हजार ५०० रुपैयाँ बराबरका सामान बेवारिसे अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले बच्चाका खेलौना, चियादानी, साबुनदानी, फोहोर उठाउने सामग्री, ऐना, हातमा लगाउने माला, औँठीलगायतका सामान बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइनेछ।