बझाङमा जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु, १३ घाइते
बझाङ: बझाङको केदारस्युँ गाउँपालिका–७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
बिजगडाबाट सुगरे–दुर्गाथलीतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २६४४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो। जिपमा चालकसहित १६ जना सवार थिए। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काडाचौरकी ३५ वर्षीया बिमला धामी, दुर्गाथली गाउँपालिका–६ चुहावनकी ६० वर्षीया केला देवी महत र ६० वर्षीय चक्र महत रहेका छन्।
दुर्घटनामा चालक देवेन्द्र धामीसहित रामबहादुर महत, वीरबहादुर जाग्री, झल्का देवी महत, जयमती महत र हर्का देवी महत गम्भीर घाइते भएका छन्। यस्तै, नवराज धामी, दीपेन्द्र जाग्री, रमेश धामी, धनसेर जाग्री, हासुली महत र गौमती देवी महत मध्यम अवस्थाका घाइते रहेको प्रहरीले जनाएको छ।
घाइते १२ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ भने उपचारपछि ५० वर्षीय इन्द्र महत डिस्चार्ज भइसकेका छन्।
प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।