सुदूर नेपाललाई विश्वसँग जोड्दै

वित्तीय ज्ञान सिकेपछि टीकापुरका महिला आयआर्जनमा

२०८३ असार २५, ०९:२३ रासस

टीकापुरः वित्तीय बचतबारे ज्ञान सिकेपछि कैलालीका महिला आयआर्जनमा जोडिएका छन्।

आम्दानी र खर्चको लेखाजोखा गर्ने र फजुल खर्च घटाउने ज्ञान सिकेपछि परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेका महिला श्रीमान्को कमाइ बचत गर्ने र आफू पनि स्वरोजगार बन्न थालेका हुन्। टीकापुर नगरपालिकाले वैदेशिक रोजगारीमा रहेका परिवारका महिलालाई वित्तिय साक्षरता कक्षा दिएपछि उनीहरुले रकमको महत्व बुझेर आयआर्जनमा लागेका छन्।

‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सीप सिकेर मात्र जाऔँ’ भन्ने नाराका साथ वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सघाउँदै आएको नगरपालिकाले मनोसामाजिक परामर्श सेवा र वित्तीय साक्षरता कक्षामा सहभागी गराएपछि आफूहरूको जीवन फेरिएको र आयआर्जनका कार्यमा लागेका महिलाहरू बताउँछन्। वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि टीकापुरको सत्तीकी विपना गुरुङको जीवन फेरिएको छ। विपनाले दैनिक जीवनमा आइपर्ने व्यवहारिक कुराहरू, रकमको महत्वबारेमा बुझेको बताउँदै सीप सिकेर मात्रै विदेश जानुपर्छ भन्ने कुरा सिकेको बताइन। 

विपनाका श्रीमान सुरुमा विदेश जाँदा तालिम बिना जानुभएको थियो। उनले विदेशमा धेरै कठिन काम गर्नुपर्यो। पछिल्लोपटक विपनाले सीप सिकेर मात्रै विदेश जानुपर्छ भन्ने सिकेपछि स्वदेश फर्किएका विपनाका श्रीमान् अहिले तालिम लिएर जाइन् र राम्रो कमाइ भइरहेको छ। वित्तीय साक्षरता कक्षापछि बिपनाले पनि टिकापुर नगरपालिकाले दिएको वेतबासका फर्निचर निर्माणसम्बन्धी ४५ दिने तालिम लिइन्। तालिमपछि सत्तीमै उनले रोजगारी पनि पाएकी छिन्। अहिले विपनाको कमाइले घर खर्च चलेको र दैनिक जीवन चलाउन सहज भएको छ भने श्रीमानको कमाइ बचत भएको उनी बताउछिन्। “मेरो घरखर्च पहिला धेरै हुन्थ्यो, श्रीमानको कमाइ घरखर्चमै सकिन्थ्यो”, उनी भछिन्, “पालिकाले तालिम दिएपछि मैले सीप सिकेर स्थानीय तिलगङ्गा बेतबास फर्निचर उद्योगमा काम गरिरहेकी छु। अब म घरमै बसेर पनि बेतबासका फर्निचर बनाएर कमाउन सक्छु।”

वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यका महिलाहरुलाई विदेशको कमाइ कसरी बचत गर्ने र स्वदेशमै आयआर्जन गरी आम्दानीका स्रोतहरू कसरी बढाउने भन्ने विषयमा सिकाइन्छ। उनीहरु फजुल खर्च घटाउने, खर्च र आम्दानीको हिसाबकिताब राख्ने, अनावश्यक क्षेत्रमा हुने खर्चहरू घटाउने बारेमा सचेत भएका बताउँछन्। यस वर्ष टीकापुरका दुई ठाउँमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो। विपनाजस्तै टीकापुर नगरपालिका–२ कोठारपुरकी सीता चौधरीको पनि वित्तीय साक्षरता कक्षापछि जीवन फेरिएको छ। श्रीमान् विदेशमा हुँदा श्रीमान्को कमाइ पर्खेर बस्ने सीतालाई तालिमपछि खर्च र आम्दानीको लेखाजोखा, सीप सिकेर रोजगारी बन्नुपर्छ भन्ने ज्ञान भएपछि उहाँले पनि मेड्पा कार्यक्रमअन्तर्गत तालिम लिइन्।

सुरुमा सिलाई कटाइ तालिम लिएर अरुको पसलमा काम गरेकी सीता अहिले आफैले टेलर खोकी छिन्। पसलमा राम्रो आम्दानी भइरहेको र दैनिक पाँच जनाले नियमित रुपमा सिलाइकटाइ सिकिरहेको उनी सुनाउछिन्। “अब म कपडा सिलाएर कमाइ गर्ने र अरुलाई पनि सिकाउने भएकी छु”, उनी भन्छिन्, “मैले समयमा सीप सिक्न पाए, कमाइ गर्न थालेपछि श्रीमान् पनि खुसी भएका छन्।”
 
वित्तीय साक्षरता कक्षामा सहभागी धेरै महिलाको जीवन फेरिएको छ। टीकापुरको अस्नेहरीकी अर्की सीता चौधरी पनि वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि नास्ता पकाउने तालिम लिएकी छिन्। अब उनी नजिकै रहेको विद्यालयमा भान्से पदमा रोजगारी गर्ने सल्लाह भइरहेको बताउछिन्। सीताले खाना पकाउँदा बिजुलीको बचत कसरी गर्ने, आगोको बचत कसरी गर्ने, आफू सुरक्षित कसरी हुने र बालबालिकालाई गलत बाटोमा लाग्नबाट कसरी जोगाउने भन्ने बारेमा पनि सिकेकी छिन्। सीताका श्रीमान् पाँच वर्ष मलेसिया बसेर घर फर्केका छन्। अहिले काठमाडौँमा सीप सिक्दै छन् र सीप सिकेर फेरि जाने तयारीमा रहेको उनको भनाइ छ। “मैले घरमै पनि महिलाले अनावश्यक हुने खर्च कसरी बचत गर्न सक्छन् भन्ने सिके”, उनी भछिन्, “आजभोलि मेरो घरमा पानी र बिजुलीको बिल पनि पहिलेको तुलनामा घटेको छ।”

टीकापुर–१ नयाँ टीकापुरकी उर्मिला खड्काले विदेश जाँदा ‘पासपोर्ट’मा मात्रै चाहिन्छ भन्ने बुझेकी थिइन्। वित्तीय कक्षामा सहभागी भएपछि विदेश जाँदा अन्य कागजात पनि चाहिन्छ, कागजातको फोटोकपी परिवारका सदस्यले पनि राख्नुपर्छ भन्ने कुरा सिकेको र घरका परिवारका सदस्यले पनि आयआर्जनका कार्यमा लाग्नुपर्छ भन्ने बुझाइको विकास भएको बताउछिन्। “विगतमा आफ्नो बारीमा फर्केको फलेको तरकारी छिमेकीलाई बाड्ने,  बचेको गाईबस्तुलाई खुवाउने गर्थे”, उर्मिला भछिन्, “आजभोलि बिक्री गर्न थालेकी छु। मैले पनि सिलाइकटाइ तालिम सिकेकी छु। अब कामको खोजीमा छु। घरायसी खर्च घटाउन थालेको छु।”

महिलाहरुले आजभोलि आम्दानी र खर्चको हिसाबकताब राख्ने, घर खर्चमा हुने फजुल खर्च घटाउन थालेको जनाएका छन्। नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रमका रिटर्नी स्वयंसेवक धनबहादुर बुढा मगर विसं २०७० बाट निरन्तर वैदेशिक रोजगारी सुरक्षित र उनीहरुका परिवारको सहज जीवनका लागि सामी कार्यक्रममा काम गरिरहेका बताउछन्। “१३ वर्षअघिको वैदेशिक रोजगारीको सुरक्षा र अहिलेको वैदेशिक रोजगारीमा जानेहरूको अवस्था फेरिएको छ”, उनी भन्छन्, “हामीजस्ता स्वयंसेवकका बारेमा स्थानीय सरकारले ध्यान दिनुपर्छ।” 

टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन लुहार विकले सामी कार्यक्रमले वैदेशिक रोजगारीमा गएका परिवारको सुरक्षा र वित्तीय बचतमा सघाएको बताए। उनले तालिम सिकिसकेका उद्यमी बन्ने, व्यवसाय गर्ने कार्य सुरु गर्नुपर्ने बताए। “हामी सीप सिकेर व्यवसाय गर्नेलाई जहिले पनि सघाउँछौँ, हामीसँग सीप सिकाउने रोजगार सेवा केन्द्र, मेड्पा लगायतका कार्यक्रम छन्”, उनी भन्छन्, “सीपपछि व्यवसाय गर्नेलाई समन्वय र अन्य खाले सहयोग जुटाइदिनेछौँ।”

वडा नम्बर ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले हाम्रो समाजका पुरुषहरू अधिकांश विदेशमा, नेपालमै रहेकाहरू रोजगारीमा, केही कृषि कर्ममा लागेका र केही गलत बाटो लागुऔषध दुव्यर्सनमा फसेकाले चिन्ता बढेको बताए। उनले विदेशको कमाइ व्यवस्थापनमा महिलाहरूको ठूलो जिम्मेवारी हुने बताउँदै वित्तीय कारोबार गर्दा सचेत र जिम्मेवार हुनका साथै फजुल खर्च घटाउन सुझाव दिए। 

टीकापुर नगरपालिकाका रोजगार शाखा प्रमुख दिनेशराज शर्माले अहिले पालिकाले एकीकृत रुपमा सीपमूलक तालिम दिन प्रयास गरिरहेको बताउँदै सङ्घ सरकारको कार्यविधि आइसकेकाले सहकार्य गरी एकीकृत रुपमा उद्यमी बन्न चाहने, सीप सिक्न चाहनेहरूका लागि तालिमका अवसरहरु सिर्जना गरिने बताए। 

टीकापुर नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओडले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुका साथै कमाइ पनि सही सुदपयोग गनुपर्नेमा परिवारका सदस्यसमेत सचेत हुनुपर्ने बताइन्। सामी कार्यक्रमका मनोसामाजिक परामर्शकर्ता मिना कुँवरले वैदेशिक रोजगारीले मानसिक समस्या हुनसक्ने भएकाले परिवारका सदस्य पनि काममा ब्यस्त रहनुपर्ने बताउछिन्। “हामीले समस्यामा रहेकालाई मनोसेवा दिने गरेका छौँ, यसका साथै वित्तीय साक्षरता कक्षामार्फत आयआर्जनका कार्यमा लाग्न हौसला दिन्छौँ”, उनी भछिन्, “विदेश र स्वदेशको कमाइ सही ठाउँमा लगानी गर्न, सुरक्षित कारोबार गर्न पनि सिकाउने गरेका छाँै।” 
 

कमेन्ट लोड गर्नुस