कञ्चनपुरमा भरुवा बन्दुक र लागूऔषधसहित एक दम्पती पक्राउ
कञ्चनपुर: कञ्चनपुर प्रहरीले भरुवा बन्दुक र लागूऔषधसहित एक दम्पतीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार राति करिब ११ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, इलाका प्रहरी कार्यालय गुलरिया, इलाका प्रहरी कार्यालय रैकवार र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले कृष्णपुर नगरपालिका–१ पिपरियास्थित जोकराज रानाको घरमा खानतलासी गरेको थियो।
गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा कोठाभित्र लुकाइराखिएको एक थान भरुवा बन्दुक, ० दशमलव ७८ ग्राम हेरोइन, ८० ग्राम गाँजा, विभिन्न कम्पनीका ८ थान स्क्रिन टच मोबाइल र २ थान कीप्याड मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा कृष्णपुर नगरपालिका–१ का जोकराज राना र उनकी श्रीमती जानकी रानालाई पक्राउ गरिएको छ। प्रहरीले बरामद भएका सामान नियन्त्रणमा लिई दुवै जनाविरुद्ध लागूऔषध तथा हातहतियारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।