गोप्य अङ्ग प्रदर्शन गरेको आरोप लागेका सुरेन्द्र भट्टलाई पाँच दिन म्याद थप
काठमाडौँः सार्वजनिक स्थलमा गोप्य अंग प्रदर्शन गर्दै एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ५५ वर्षीय सुरेन्द्र भट्टमाथि पाँच दिन म्याद थप भएको छ।
जिल्ला अदालत ललितपुरबाट सोमबार नै भट्टमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी मधुकुमार थापाले जानकारी दिए।
प्रहरीका अनुसार रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत भट्टले एक महिलालाई सार्वजनिक स्थलमै गोप्य अंग देखाएपछि पीडित महिलाले भिडियो खिचेर सार्वजनिक गरेकी थिइन्। भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै उनलाई सोमबार पक्राउ गरिएको हो।
हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोमा राखी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।