सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उज्यालो बन्दै : फूलबारीमा सडकबत्ती जडानपछि स्थानीय हर्षित

२०८३ असार २२, ०३:३४ लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढी उपमहानगरपालिका–१४ फूलबारी क्षेत्रमा सडकबत्ती जडानको काम तीव्र गतिमा अघि बढेसँगै स्थानीयवासी खुसी भएका छन्। नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सडक प्रकाश कार्यक्रमअन्तर्गत सुस्ता इन्जिनियरिङ, नवलपरासीले ठेक्का लिएर बत्ती जडान गरिरहेको हो।

उपमहानगरपालिकाले नगरका रिङरोडलाई उज्यालो बनाउने लक्ष्यसहित धमाधम सडकबत्ती जडान गरिरहेको छ। यसअघि रातिको समयमा अन्धकार रहने सडक अहिले उज्यालो बनेपछि आवतजावत सहज हुनुका साथै सुरक्षा पनि बढेको स्थानीयवासी बताउँछन्।

विशेषगरी वर्षायाममा सर्पको जोखिम बढी हुने भएकाले रातिको समयमा हिँडडुल गर्न निकै कठिन हुने गरेको थियो। अहिले सडकबत्ती जडान भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको उनीहरूको भनाइ छ। विगतमा हिउँद र वर्षा दुवै मौसममा अन्धकारका कारण असहज अवस्था भोग्नुपरे पनि अहिले त्यो समस्या धेरै हदसम्म कम भएको स्थानीयले बताएका छन्।

धनगढी उपमहानगरपालिकाले आह्वान गरेको ठेक्का प्रक्रियाअनुसार सुस्ता इन्जिनियरिङले वडा नम्बर १४ मा सडकबत्ती जडानको काम गरिरहेको हो। हाईमास्टर स्ट्रीट लाइटका म्यानेजर दीपेन्द्र कुर्मीका अनुसार उक्त वडामा १० वटा हाईमास्ट लाइट, १२० वाट क्षमताका ९५८ वटा तथा ५० वाट क्षमताका ९५८ वटा एलईडी स्ट्रीट लाइट गरी कुल १ हजार ९सय ८ वटा बत्ती जडान गरिनेछ।

यसअघि धनगढीका विभिन्न वडा, मुख्य सडक तथा रिङरोडमा पर्याप्त सडकबत्ती नहुँदा दुर्घटनाको जोखिम बढ्ने गरेको थियो। अहिले नगर क्रमशः उज्यालो बन्दै गएपछि सर्वसाधारणले सुरक्षित र सहज महसुस गर्न थालेका छन्।
उपमहानगरपालिकाका अनुसार रिङरोड क्षेत्रमा काम सम्पन्न भएपछि धनगढीका सबै १९ वटै वडाका भित्री सडक, गल्ली तथा अन्य आवश्यक स्थानमा समेत चरणबद्ध रूपमा सडकबत्ती विस्तार गरिनेछ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस