धनगढीमा छैठौं 'एसईई आइडल' सुरु, विजेतालाई १ लाख ११ हजार बढी पुरस्कार
धनगढी: सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य तथा गायन प्रतियोगिता 'एसईई आइडल' को छैठौं संस्करण आजदेखि धनगढीमा औपचारिक रूपमा सुरु भएको छ। प्रभात मिडिया एण्ड ईभेन्ट प्रा. लि. को आयोजनामा सुरु भएको यस प्रतियोगिताको उद्घाटन आज धनगढीको मिलनचोकस्थित वैशेषिक पाठशालामा एक विशेष समारोहका बीच गरिएको हो।
प्रभात मिडिया एण्ड ईभेन्ट प्रा. लि. का अध्यक्ष प्रकाश छेडालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्याब्सन धनगढीका अध्यक्ष ध्रुब बहादुर सिंह प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा वाइवाइ चाउचाउका सुदूरपश्चिम प्रमुख सुन्दर खनाल र वैशेषिक पाठशालाका प्राचार्य विवेक भट्टको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याब्सन धनगढीका अध्यक्ष ध्रुब बहादुर सिंहले एसईई आइडलको सराहना गर्नुभयो। "वास्तवमा राज्यले गर्नुपर्ने काम एउटा व्यक्ति र संस्थाले अग्रसरता लिएर गरिरहेको छ," सिंहले भन्नुभयो, "विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने यो कार्य अत्यन्तै प्रशंसनीय र उदाहरणीय छ।"
यस प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट वि.सं. २०८३ सालमा एसईई परीक्षा दिने विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। यो प्रतियोगिता नृत्य र गायन गरी दुई विधामा सञ्चालन भइरहेको छ।
नृत्य र गायन दुवै विधाका विजेताले नगद एक लाख एघार हजार एक सय एघार, ट्रफी, प्रमाणपत्र र कक्षा ११-१२ मा पूर्ण छात्रवृत्ति हात पार्नेछन् भने उप-विजेताले नगद रु. पचपन्न हजार पाँच सय पचपन्न, ट्रफी, प्रमाणपत्र र कक्षा ११-१२ मा छात्रवृत्ति पाउनेछन् ।
वि.सं. २०८३ असार महिनाबाट सुरु भएको यस प्रतियोगिताको अडिसन र भिडियो राउण्डहरू आगामी २०८३ माघ महिनासम्म आयोजना गरिने आयोजकले जनाएको छ। त्यसैगरी, प्रतियोगिताको सेमिफाइनल खेल वि.सं. २०८४ वैशाख १५ गते र भव्य फाइनल वि.सं. २०८४ जेठ ५ गते आयोजना हुने तालिका सार्वजनिक गरिएको छ।