एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल
काठमाडौँ : नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताएका छन्।
वर्तमान सरकार गठनको एक सय दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सुशासन र सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता, जवाफदेहिताका लागि आवश्यक सुधार गरेको जानकारी दिए।
मुख्यसचिव अर्यालले भने, “सबै मन्त्रालयको समन्वय र सहकार्यमा वर्तमान सरकारले सुशासनका क्षेत्रमा पर्याप्त काम गरेको छ ।”
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले संयोजन गरेकाे सो कार्यक्रममा सञ्चारकर्मीका जिज्ञासालाई सम्बोधन गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले आआफ्नो क्षेत्रका बारेमा स्पष्ट पारेका थिए।