सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत

२०८३ असार १५, १२:२० रासस

गोदावरी (कैलाली): कैलालीको गौरीगङ्गा नगरपालिका–१ मा सञ्चालन गरिएको करारखेती प्रवर्द्धन कार्यक्रमले किसानलाई राहत पुगेको छ। 

 नगरपालिकाले स्थानीयको पाँच बिघा जमिन भाडामा लिएर कृषक समूहमार्फत तरकारी र फलफूलखेती गर्न थालेपछि कृषकलाई आयआर्जन गर्न ठूलो राहत मिलेको हो। स्थानीय जागृती पशु फलफूल तथा तरकारी कृषक समूहलाई विसं २०८१ देखि वार्षिक रु एक लाख ८३ हजारमा पाँच वर्षका लागि जग्गा भाडामा लिएर गत फागुनदेखि तरकारी र फलफूलखेती गराएको गौरीगङ्गा नगरपालिकाका नगर उपप्रमुख भोजबहादुर बमले जानकारी दिए।

उक्त जमिनमा समूहका पाँच जना कृषकले तरकारी तथा फलफुल उत्पादन गरी आत्मनिर्भर बनिरहेको उनको भनाइ छ। उक्त कार्यक्रम सफलतातिर उन्मुख रहेकाले नगरपालिकाको अन्य क्षेत्रमा पनि कार्यक्रम विस्तार गर्न लागेको छ।

नगरपालिकाले जमिन सहुलियत  भाडादरमा उपलब्ध गराएर तरकारीखती गरिरहेको समूहका सचिव राजेश बुढाले बताए। कृषकले त्यस जमिनमा बेमौसमी तरकारी फर्सी, लौका, भिन्टी, बोडी, भान्टा, खुर्सानी, वसन्ते मकै उत्पादन गर्दै आएका छन्। उनीहरुले मौसमअनुसारको काउली, बन्दा, ब्रोकाउली, सिमी गाजर, मुला धनियाँ, भान्टा, आलु, मटर र गाजर उत्पादन गर्ने सोच बनाइसकेका छन्।

     बेमौसमी तरकारी उत्पादनबाट रु ७५ हजार र मौसमी तरकारीबाट रु चार लाख ५० हजारको बिक्री गर्दै आएको बताउनुभयो । समूहले उत्पादन गरेको तरकारी स्थानीय बजारमा खपत हुने भएकाले सबै खर्च कटाएर समूहमा रु एक लाख ५० हजार बचत भएको समूहले जनाएको छ ।
  
नगरपालिकाका कृषि प्राविधिक विनोद चौधरीले जमिन नभएका कृषकलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम सुरु गरेकामा छोटो  समयमै सफल नतिजा प्राप्त भएको धारणा व्यक्त गर्नुभयो ।

कमेन्ट लोड गर्नुस