सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको बजेटमा काँग्रेसकै सांसदको असन्तुष्टि

२०८३ असार ६, ०१:३२ नारायण अवस्थी

धनगढीः आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएसँगै सत्ता साझेदार मात्रै होइन् सरकारको नेतृत्व गरिरहेको काँग्रेस भित्रै असन्तुष्टि चुलिएको छ।

प्रमुख प्रतिपक्षी नेकपाले औपचारिक रुपमै बजेटप्रति आफ्नो दृष्ट्रिकोण सार्वजनिक गरेका बेला सत्तासाझेदार एमालेले बजेटमा संशोधन हाल्ने निर्णय नै गरेको छ।

प्रदेश सरकारले ल्याएको बजेटमा सरकारको नेतृत्व गरिरहेको काँग्रेसका सांसदहरूले पनि असन्तुष्टि पोखेका छन्। बजेटकै कारण चर्किएको विवादले सरकारको भविष्यसमेत अन्योलपूर्ण बन्दै गएको छ।

आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले सोमबार मध्यरातमा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेपछि सत्तारुढ गठबन्धन र काँग्रेसभित्रै असन्तुष्टि चुलिएको हो।

बजेट निर्माण तथा वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) ले बजेटमाथि संशोधन दर्ता गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले बजेटमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकाल्दै संशोधनको बाटो रोजेको हो।

स्रोतका अनुसार एमालेभित्र बजेटलाई यथास्थितिमा पारित हुन नदिने रणनीतिबारे छलफल भइरहेको छ। सत्ता पक्षबाटै बजेट असफल बनाउने प्रयास सरकारको अस्तित्वमाथि चुनौतीका रूपमा हेरिएको छ।

‘बजेटमाथिको तीव्र विवादले एमाले रुष्ट छ। बजेट फेल गर्ने रणनीतिअनुसार संशोधन दर्ता गर्ने तयारी भइरहेको छ,’ एक सांसदले बताए, ‘सत्ता पक्षबाटै बजेट फेल गराउनु भनेको सरकार ढाल्नु सरह हो।’

बजेटप्रति एमाले मात्र होइन, सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस भित्र पनि असन्तुष्टि देखिएको छ। काँग्रेस प्रदेशसभा सदस्य तथा विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टले बजेट नीति, विधि र प्रक्रियाविपरीत ढंगले ल्याइएको आरोप लगाएका छन्।

उनले बजेट वितरणमा समावेशिता र सन्तुलनको अभाव रहेको भन्दै मन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएर बजेट विनियोजन गरिएको तर सांसदहरूको निर्वाचन क्षेत्रमा मागेका योजना नपरेको बताए।

'सरकारले विचौलिया केन्द्रित बजेट ल्यायो। हाम्रो पनि बजेटमा असहमति छ। बजेट पास हुनुहुन्न भन्ने हाम्रो पनि मान्यता छ। हामी के गर्ने भनेर छलफलमै छौँ, बजेट ठिक छैन। जहाँ मन्त्री छन्, त्यहीँ बजेट खन्याउने काम भएको छ,' विष्टले भने।

सत्तारुढ दलकै सांसदबाट सार्वजनिक रूपमा आलोचना भएपछि सरकार थप दबाबमा परेको छ।

यता प्रमुख प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि बजेटको कडा विरोध गर्दै यथास्थितिमा पारित हुन नसक्ने जनाएको छ। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता खगराज भट्टले बजेटलाई इतिहासकै कमजोर, अपारदर्शी र जनविरोधी दस्ताबेजको संज्ञा दिए।

उनले बजेट ‘दलाल र बिचौलिया केन्द्रित’ रहेको आरोप लगाउँदै सामान्य संशोधनले सुधार नहुने भएकाले बजेट खारेज गरी नयाँ बजेट ल्याउनुपर्ने माग गरे।

'यो बजेट पुनर्लेखन गर्ने होइन, खारेज गर्नुपर्छ। टालटुल गरेर सुधार गर्ने अवस्था छैन, बजेटमा ठूलो भ्वाङ परेको छ,' भट्टले भने।

प्रदेशसभामा नेपाली काँग्रेसका १८ र एमालेका ११ सांसद छन्। सरकारको बहुमत कायम राख्न आवश्यक संख्याको आधारमा सत्ता साझेदार एमाले र काँग्रेसकै सांसद असन्तुष्ट बनेपछि सरकारमाथि दबाब बढेको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस