सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसइईमा उपमहानगरपालिका प्रथम भएका आकाश ठगुन्ना कक्षा १२ मा 'नेपाल टपर'

२०८३ असार ५, ०८:२५ खबर संवाददाता

धनगढीः राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालित कक्षा १२ को परीक्षामा धनगढीस्थित ग्यालेक्सी माध्यमिक विद्यालय का विद्यार्थी आकाश ठगुन्ना ले विज्ञान संकायतर्फ ३.९६ जीपीए हासिल गर्दै देशकै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीमध्ये एक बन्न सफल भएका छन्।

आकाशले निरन्तर मेहनत, अनुशासन र अध्ययनप्रतिको समर्पणका कारण कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्दै राष्ट्रिय स्तरमा आफूलाई अब्बल विद्यार्थीका रूपमा स्थापित गरेका हुन्। उनको यस सफलतासँगै ग्यालेक्सी माविले आफ्नो शैक्षिक उत्कृष्टताको परम्परालाई पुनः एकपटक प्रमाणित गरेको विद्यालयले जनाएको छ।

यसअघि २०८० सालको एसइई परीक्षामा पनि आकाशले संस्थागत विद्यालयतर्फ धनगढी उपमहानगरपालिकाभर सर्वोत्कृष्ट ग्रेड हासिल गरेका थिए। उक्त उपलब्धिका लागि धनगढी उपमहानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा उनलाई सम्मानसमेत गरेको थियो।

ग्यालेक्सी माविले विगतदेखि नै एसइई तथा कक्षा १२ का परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। विद्यालयले प्रदेशस्तर मात्र नभई राष्ट्रिय स्तरमै प्रतिस्पर्धात्मक नतिजा प्रस्तुत गर्दै आएको छ।

यसअघि २०७९ सालको एसइई परीक्षामा सुदूरपश्चिम प्रदेशबाट एक जना विद्यार्थीले मात्र ४.०० जीपीए प्राप्त गर्दा ग्यालेक्सी माविकी छात्रा नितु बिष्टले उक्त उपलब्धि हासिल गरेकी थिइन्।

विद्यालयले आकाशको सफलतालाई विद्यार्थी, अभिभावक र शिक्षकहरूको संयुक्त मेहनतको प्रतिफल भएको जनाएको छ।

कमेन्ट लोड गर्नुस