सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा तथा सीमान्तकृत समुदायका समस्या समाधानमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जाेड

२०८३ असार ३, ०५:४३ खबर संवाददाता

धनगढीः युवा, विद्यार्थी तथा विभिन्न सीमान्तकृत समुदायका समस्या समाधानका लागि राज्यका सबै निकाय र सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।

लोकतान्त्रिक सहभागिताका लागि नागरिक संलग्नता प्रवर्द्धन परियोजनाअन्तर्गत सञ्चार प्रतिष्ठान नेपाल र यूएनडीपीको सहकार्यमा बुधबार धनगढीमा आयोजित “वर्तमान परिवेशमा युवा, विद्यार्थी तथा विभिन्न सीमान्तकृत समुदायका मुख्य सवालहरूमाथि सरोकारवालासँग नीति संवाद” कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशसभाको अर्थ विकास समितिका सभापति तथा पूर्वमन्त्री घनश्याम चौधरीले आर्थिक असमानता बढ्दै गएको भन्दै गरिब झन् गरिब र धनी झन् धनी बन्ने अवस्था अन्त्य नगरेसम्म समृद्धि सम्भव नहुने बताए। उनले मुक्त कमैया, मुक्त हलिया तथा मुक्त कमलरी समुदायका समस्या समाधानका लागि प्रदेश सरकारले पहल गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे।

प्रदेशसभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले सीमान्तकृत समुदायका मुद्दा सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै प्रदेश सरकारले नीति तथा कार्यक्रममा ती विषय समेटेको जानकारी दिए। उनले समस्या समाधानका लागि सरकारसँगै सबै सरोकारवाला पक्षको सहकार्य आवश्यक रहेको बताए।

प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मी विकले नीतिगत कमजोरीका कारण सीमान्तकृत समुदाय अझै समस्यामा रहेको बताइन्। दलित विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था भए पनि कतिपय स्थानमा शुल्क तिर्न बाध्य हुनुपरेको उल्लेख गर्दै उनले तथ्यांकमा आधारित योजना र कार्यक्रम आवश्यक रहेको धारणा राखिन्।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले लक्षित वर्गसम्म सूचना नपुग्दा राज्यका सेवा तथा सुविधाबाट उनीहरू वञ्चित हुने गरेको बताए। किसानलाई उपलब्ध गराइने अनुदानसमेत वास्तविक किसानसम्म पुग्न नसकेको उनको भनाइ थियो।

त्यस्तै, नेकपाकी सुदूरपश्चिम प्रदेश समिति सदस्य गीता नेपालीले समाजमा अझै पनि छुवाछूतजस्ता कुप्रथा कायम रहेको बताउँदै यसको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन्। उनले दलित समुदायले अझै विभिन्न प्रकारका सामाजिक विभेद भोग्नुपरेको उल्लेख गरिन्।

कार्यक्रममा सहभागीहरूले मुक्त कमैया, मुक्त हलिया र मुक्त कमलरी समुदायको पुनःस्थापना अझै पूर्ण रूपमा हुन नसकेको भन्दै तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए। साथै अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले भोगिरहेका समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने माग समेत गरेका थिए।

सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष हेमकर्ण विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार मनमोहन स्वारले गरेका थिए।

कमेन्ट लोड गर्नुस