रास्वपा सुदूरपश्चिमको नेतृत्व चयन अन्तिम चरणमा, आजै मतगणना र दोस्रो चरणको निर्वाचन हुने
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्व चयनका लागि सोमबार राति ९ बजेदेखि सुरु भएको मतदान अन्तिम चरणमा पुगेको छ।
सभापतिसहित १६ भूगोल तथा १५ खुला र समावेशी सदस्य चयनका लागि भइरहेको मतदान सम्पन्न भएलगत्तै मंगलबार नै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।
प्रदेश सभापति पदका लागि निवर्तमान सभापति प्रकाश विष्ट र प्रतिनिधिसभा सदस्य जनकसिंह धामीबीच प्रतिस्पर्धा छ। सभापतिमा निर्वाचित हुन कुल सदर मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ।
निर्वाचन समितिका अनुसार सभापति, भूगोल, खुला तथा समावेशी सदस्यहरूको मतगणना सम्पन्न भएपछि मंगलबार नै दोस्रो चरणको निर्वाचन गर्ने तयारी गरिएको छ।
पहिलो चरणमै सभापति निर्वाचित भए उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा कार्यसमिति सदस्य पदका लागि दोस्रो चरणमा मतदान हुने जनाइएको छ।