गेटा विश्वविद्यालयमा चिकित्सा शिक्षा सञ्चालनको बाटो खुल्यो, सरकारले छुट्यायो २ अर्ब ५३ करोड
धनगढीः कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापनको तयारी तीव्र बनेको छ। सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न २ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
गेटामा विश्वविद्यालय सञ्चालन गर्नका लागि सरकारले एक अर्ब ७१ करोड ८७ लाख तथा विश्वविद्यालय अनुदान आयोगबाट थप ८१ करोड ४९ लाख ८४ हजार विनियोजन भएको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइरालाले उल्लेख गरेका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक नीति तथा कार्यक्रम तथा बजेटमार्फत उक्त रकम विनियोजन गरिएको हो। विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि एमबिबिएसमा ५०, बीएससी नर्सिङमा ३०, बीएससी एमएलटीमा २० र बी अप्टोमेट्रीमा २० सिटमा अध्ययन–अध्यापन सञ्चालन गर्ने तयारी गरेको छ।
शैक्षिक कार्यक्रम सञ्चालनका लागि सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पताल लाई विश्वविद्यालयसँग आबद्ध गर्ने तयारीसमेत गरिएको छ।
बजेट विनियोजनपछि स्थानीयवासी तथा सरोकारवालाले खुसी व्यक्त गरेका छन्। यो पटक सरकारले प्रयाप्त बजेट विनियोजन गरेकाले लामो समयदेखि उठाउँदै आएको माग पूरा हुने विश्वास गरिएको छ।
सङ्घीय सांसद खेमराज कोइरालाले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट पर्याप्त रूपमा विनियोजन भएको उल्लेख गर्दै आगामी शैक्षिक सत्रदेखि गेटामै चिकित्सा शिक्षा अध्यापन हुने बताए।
सांसद कोइरालाले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चित भएको भन्दै अब कार्यान्वयनमा सबै पक्षले सहयोग गर्नुपर्ने बताएका छन्। उनका अनुसार विश्वविद्यालयका लागि १ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ र विश्वविद्यालय अनुदानतर्फ ८१ करोड ४९ लाख ८४ हजार रुपैयाँ गरी कुल २ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको हो।
अर्थमन्त्रीले आवश्यक परे थप बजेटसमेत उपलब्ध गराएर विश्वविद्यालय सञ्चालनलाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरेका छन्।
गेटामा चिकित्सा शिक्षा सुरु हुने सम्भावना बलियो बनेसँगै स्थानीयवासीले सामाजिक सञ्जालमार्फत पनि खुसी व्यक्त गरिरहेका छन्। विश्वविद्यालय सञ्चालनले सुदूरपश्चिममै उच्च चिकित्सा शिक्षाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।