सुदूरपश्चिमको अर्थमन्त्रीमा बिक्रम धामी निश्चित
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठनको तयारी अन्तिम चरणमा पुगेको छ। सोही क्रममा आर्थिक मामिला मन्त्रीको जिम्मेवारी नेपाली काँग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले पाउने लगभग निश्चित भएको स्रोतले जनाएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य तथा काँग्रेसका प्रमुख सचेतक धामीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्। हाल उक्त मन्त्रालयको जिम्मेवारी काँग्रेसकै बहादुरसिंह थापाले सम्हालिरहेका छन्।
अर्थ मन्त्रालयका लागि मुख्यमन्त्रीविरुद्धको हस्ताक्षर अभियानबाट पछि हटेकी प्रदेशसभा सदस्य डम्मरी महराले पनि दाबी प्रस्तुत गरेकी थिइन्। तर, महरालाई अन्य माध्यमबाट व्यवस्थापन गर्दै धामीलाई अर्थ मन्त्रालयको नेतृत्व सुम्पिने तयारी भइरहेको स्रोतको दाबी छ। महराले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रीको दौडबाट पछि हटेको जानकारी गराएकी छन्।
मुख्यमन्त्री शाहले सोमबार नै मन्त्री हेरफेर गर्ने तयारी गरेका छन्। सत्ता साझेदार नेकपा एमालेले सरकारमा पठाउने चार जना सांसदको नाम मुख्यमन्त्रीलाई बुझाइसकेको छ।
यद्यपि, काँग्रेसभित्र मुख्यमन्त्री शाहविरुद्ध उभिएको दिवानसिंह विष्ट पक्षले भने सरकारमा सहभागी हुने आफ्ना प्रतिनिधिको नाम अझै टुंगो लगाउन सकेको छैन। मन्त्री हेरफेरसँगै काँग्रेसभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्ने प्रयास पनि भइरहेको बताइएको छ।