प्रधानमन्त्री शाहले माफी नमागेसम्म संसद अवरोध जारी राख्ने विपक्षी दलको निर्णय
काठमाडौँः विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। सोमबार बिहान नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको कडा विरोध गर्ने निष्कर्ष निकालेको हो।
आइतबार प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ। बैठकले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने निर्णय गरेको बताइएको छ।
बैठकपछि जानकारी दिँदै युवराज दुलालले प्रधानमन्त्रीको भनाइ राष्ट्रघाती भएको ठहर गर्दै विपक्षी दलहरू एकमत भएर माफीको मागसहित संसद अवरोध गर्ने अडानमा पुगेको जानकारी दिए।
बैठकमा नेपाली काँग्रेससहित नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी थिए।
प्रधानमन्त्री शाहले भारतले नेपाली भूमि मिचेको विषय कूटनीतिक वार्ताबाट समाधान खोजिने बताउँदै नेपालले पनि भारतका विभिन्न स्थानमा भूमि मिचेको दाबी गरेपछि विवाद चर्किएको हो। तर सीमाविद्हरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तथ्यहीन रहेको र नेपालले भारतको भूमि नमिचेको स्पष्ट गरिसकेका छन्।
यस विषयमा सत्तारुढ दल भने मौन देखिएको छ। प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछाने भारत प्रस्थान गर्नुअघि संसदमा अकस्मात् जवाफ दिने क्रममा उक्त विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। लामिछाने सोमबार दिउँसो १ बजे भारत प्रस्थान गर्नुभएको छ।