सुदूरपश्चिममा रुद्राक्षको पर्याप्त सम्भावना
अछामको मंगलसैन नगरपालिका वडा नम्बर ४ का किसान भवान सिंह धामीले रुद्राक्ष खेती सुरु गर्दा धेरैलाई विश्वास पनि थिएन व्यवसायिक खेती सम्भव छ भनेर। तर उनले अहिले रुद्राक्ष खेतीबाटै वर्षको तीन देखि चार लाख सम्म आम्दानी गर्दै आएका छन्।
‘३० ओटा रुद्राक्षका बोट लगाएको छु,’ उनले भने, ‘एक बोटमा दुई क्वीन्टल रुद्राक्ष फल्ने गरेको छ।’ वर्षमा १० क्वीन्टल रुद्राक्ष विक्रि गर्दै आएको उनी बताउँछन्। तर सुदूरपश्चिम प्रदेशमा रुद्राक्षको पर्याप्त सम्भावना भएपनि व्यवसायीक खेतीका रुपमा विस्तार गर्न भने खासै प्रयास भएको छैन्।
पुर्वी नेपालका केही जिल्लाहरुमा मात्र यसको सम्भावन भएको भन्दै वेवास्ता गरेका कारण सुदूरपश्चिममा रुद्राक्ष खेती विस्तार गर्नको लागि प्रयास नै नभएको हो। सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यसको पर्याप्त सम्भावना रहेको विज्ञहरुले बताएपनि सरकारी कुनै निकायबाट व्यवसायीक खेती विस्तार गर्नको लागि पहल नै भएको छैन्।
यस क्षेत्रमा फल्ने गरेको रुद्राक्ष काठमाडौं, लुम्वीनी लगायत भारतका केही स्थानहरुमा निर्यात भईरहेको छ। ‘थोरै बोटबाट फलेको रुद्राक्षले पनि लाखौं आम्दानी गर्न सकिने हुदा यस क्षेत्रमा लगानी गरि कृषकहरुलाई आकर्षण गर्न आवश्यक रहेको छ,’ बनस्पती कार्यालय कैलालीका प्रमुख लक्षमण झाले भने, ‘रुद्राक्षको विषयमा धेरै कृषकहरु पनि अनविज्ञ भएकोले प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने देखिएको छ।’
एक मुखे देखि २१ मुखे सम्मका रुद्राक्षबारे महापुराणमा समेत वर्णन गरेको बताईएको छ। रुद्राक्षको मुख, तौल र आकार हेरेर किनबेच हुने गर्छ। हावापानीको हिसावले सुदूरपश्चिम प्रदेशमा रुद्राक्ष खेतीको पर्याप्त सम्भावना रहेको सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले पनि बताए।