सुदूर नेपाललाई विश्वसँग जोड्दै

शास्त्रिय संगीतमा टीकापुरका कमलको जादु, भ्वाईस अफ नेपालमा ईन्ट्रि

२०७६ भदौ १४, ११:४१ खबर संवाददाता

२०६५ साल पूर्व कैलालीको टीकापुरमा रहेको न्यू लाईट एजुकेशन होममा अध्ययनरत थिए कमल विष्ट, विद्यालयमै आयोजना हुने सांगीतीक कार्यक्रम र विभिन्न प्रतियोगितामा गुञ्जिने उनको स्वरको पारखी विद्यालयका विद्यार्थीसंगै शिक्षकहरु पनि थिए। सोही क्रममा उनले शास्त्रिय संगीतका विषयमा आधारभुत जानकारी पाउनेथाले टीकापुरकै संगीतकार शिशिर साधकबाट।

२०६५ सालदेखि नै उनी शास्त्रिय संगीतका विद्यार्थी बने र संगीतमा भविष्य खोज्ने लक्ष्य सहित संघीय राजधानी काठमाडौँको गन्तव्य तय गरे। ‘२०६८ सालमा काठमाडौँ छिरेपछि संगीत सिक्नका लागि र गीत गाउनका लागि धेरै स्थानमा धाए,’ विष्टले भने, ‘पहिलेदेखि नै शास्त्रिय संगीतमा रुची भएकोेले श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा संगीत सिक्न सुरु गरे।’ श्रीकृष्ण गुरुकुल संगीत पाठशाला पनि कैलाली नै घर भएका संगीतकार तथा गायक तिलकसिंह पेलाको थियो।

विष्टले भने– ‘आफ्नै क्षेत्रको संगीत गुरु पाउँदा मलाई साधनामा झनै सहज भयो, अहिले पनि संगीत सिकिरहेको छु संगै आफुले सिकेको संगीतका आधारभुत पक्षका बारेमा अरुलाई पनि सिकाईरहेको छु।’ उनले अहिले राजधानीमै महर्षी संगीत पाठशालामा संगीत सिकाईरहेका छन्। गत बर्षको भ्वाईस अफ नेपालमा श्रीकृष्ण गुरुकुल संगीत पाठशालामै संगीत सिकेका सुशिल गर्तौलाको जादुमय स्वरको सबैतिर चर्चा भएपछि यो बर्ष सोही रियालिटी सोमा सहभागिता जनाउने लक्ष्य उनले बनाईसकेका थिए। 

‘दि भ्वाइस अफ नेपाल’ मा डिजिटल अडिसन दिएर विष्ट छनौट भएपछि पालो ब्लाइन्ड अडिसनको थियो। ब्लाइन्ड अडिसनमा उनी देशभरीका संगीतप्रेमी समक्ष पहिलो पटक पेश हुँदै थिए। ‘दि भ्वाइस अफ नेपाल’ को ब्लाईण्ड अडिसनमा उनको शास्त्रिय संगीतप्रतिको लगाव स्पष्ट झल्कियो।

चारै जना कोचलाई उनले प्रभावित गर्न सफल भए। उनको आवाजले प्रभावित भएका चारै जना कोचको कुर्ची घुमेसंगै विष्ट भ्वाइसको आगामी यात्राका लागि प्रतिस्पर्धी बनेका छन्। उनको लक्ष्य पनि अव भ्वाईसको विजेता बन्ने नै छ। उनीसंगै भ्वाईस अफ नेपालको ५ वटा अंक प्रशारण भएकोमा सुदूरपश्चिमका तीन जना ब्लाईण्ड अडिसनबाट छनौट भईसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस