सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका हिम्मत चन्द एक दिने अनशनमा

२०८३ जेठ ८, ११:०५ खबर संवाददाता

धनगढीः बैतडी सदरमुकाम खलङ्गास्थित पिपल चौतारामा स्थानीय हिम्मत चन्द अनशन बसेका छन्। आज (शुक्रवार) बिहान ९ बजेदेखि चन्द अनशन बसेका हुन्।

दशरथचन्द नगरपालिका-८ घर भएका चन्दले नगरपालिकाको वडा नम्बर ४ मा आप्रवासीहरूको गतिविधि बढेको र उनीहरुले गरिरहेको विभिन्न व्यवसाय बारे छानविन हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि अनशनमा बस्नु परेको बताएका छन्।

चन्दका अनुसार दनपा-४ गोठालापानीमा भारतबाट आएका मुस्लिम समुदायका व्यक्तिहरूले राममन्दिरको जग्गामा व्यवसाय सञ्चालन गर्दै आएकाले उनीहरुको व्यवसाय बारे छानविनको माग राखेका छन्। चन्दले भारतको पश्चिम बङ्गाल राज्यबाट बङ्गाली मुस्लिम आउने क्रम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले यो विषयमा छानविन र अध्ययन गर्नुपर्ने भन्दै बैशाख २४ गते निवेदन दिएको बताएका छन्।
निवेदन दिँदा पनि बङ्गाली मुस्लिमहरुको व्यापार व्यापार व्यवसाय र बैतडीका विभिन्न स्थानमा बसाइ विस्तार बारे प्रशासनले कुनै अध्ययन नगरेको बताएका छन्।

चन्दका अनुसार बैतडी सदरमुकाम लगायत जिल्लाका अन्य व्यापारिक केन्द्रमा मुस्लिम समुदायका व्यक्तिको उपस्थिति बढेको तर स्थानीयका व्यवसाय बन्द भइरहेको भन्दै भारतीयको आवरणमा बङ्गलादेशीहरु बैतडीमा आइरहेको आशंका गरेका छन्।

सुनचाँदीको गहना बनाउने, कपाल काट्ने, श्रृङ्गारको पसल सञ्चालन गर्ने, रजाई-गद्दा बनाउने काममा मुस्लिम समुदायको एकाधिकार रहेको चन्दले बताए। उनले उनीहरूले गरिरहेको पेशा व्यवसाय दर्ता भए/नभएको, कर तिरे/नतिरेको तथा उनीहरू भारतीय भए/नभएको तथ्य प्रशासनले छानविन गरेर सार्वजनिक गर्नुपर्ने माग राखेका छन्।

बैतडीमा केही महिनादेखि भारत भएर आउने मुस्लिमहरूको संख्या उल्लेख्य रुपमा बढेको तथा उनीहरूले स्थानीय केही व्यक्तिलाई आर्थिक प्रभावमा पारेर घर तथा जग्गा भाडामा लिने, कपाल किन्ने, भाडा वर्तन बिक्री गर्ने भन्दै गाउँ-गाउँमा पुग्ने र जहाँ पुग्यो त्यही कोठाकै २०-२५ हजार भाडा तिरेर पसल सञ्चालन गर्दै आएको चन्दको दाबी छ।

चन्दका अनुसार झुलाघाट नाकाबाट दैनिक भन्सार र प्रशासनसँगको मिलेमतोमा मुस्लिम व्यापारीहरूले ठुलो परिमाणमा मालसमान भित्र्याउदै आएको दाबी गरेका छन्।

यता जिल्ला प्रशासन कार्यालय बैतडीले भने चन्दले दिएको निवेदन उपर प्रहरीले अनुसन्धान र छानविन गरिरहेको जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारूले चन्दको निवेदन उपर छानविन भइरहेको बताए।
 

कमेन्ट लोड गर्नुस