सुत्केरी व्यथा लागेपछि हुम्लाकी गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
बाजुराः हुम्लाकी एक गर्भवती महिलाको जटिल स्वास्थ्य अवस्था भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
हुम्लाको सर्केगाड गाउँपालिका–१ की १९ वर्षीया ललिता नेपालीलाई सुत्केरी व्यथा लागेको ६ दिन बित्दासमेत बच्चा जन्मिन नसकेपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगरपालिका–स्थित कोल्टी आधारभूत अस्पतालमा उपचारका लागि पुगेकी नेपालीको अवस्था जटिल बनेपछि सुविधा सम्पन्न अस्पताल रिफर गरिएको थियो। त्यसपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।
कोल्टी आधारभूत अस्पतालका अनुसार लगातार ६ दिनदेखि सुत्केरी व्यथा लागे पनि बच्चा जन्मिन नसकेको र यौनाङ्गबाट लगातार पानी बगिरहेको अवस्थामा बिरामीलाई थप उपचारका लागि रिफर गरिएको हो।
सरकारले दुर्गम क्षेत्रका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनामार्फत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।