राज्य व्यवस्था समितिद्वारा होल्डिङ सेन्टर अनुगमन गर्ने निर्णय
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएको होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले बनेपास्थित होल्डिङ सेन्टरसहित अन्य स्थानको समेत निरीक्षण गर्ने निर्णय गरेको हो। सभापति हरि ढकाल ले हालसम्म बनेपाको होल्डिङ सेन्टरमा कुनै पनि संसदीय समिति अनुगमनमा नपुगेको जानकारी प्राप्त भएकाले अनुगमन आवश्यक भएको बताए।
बैठकमा काठमाडौंको भूमिहीन तथा सुकुम्बासी व्यवस्थापनबारे शहरी विकास मन्त्रालय लगायत सरोकारवाला निकायसँग छलफल गरिएको थियो। छलफलका क्रममा भूमिहीन तथा सुकुम्बासीलाई स्क्रिनिङपछि छिटो प्रक्रियामा लालपुर्जा वितरण गर्ने र लालपुर्जा नपाएसम्म मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी रहेको जानकारी आएको सभापति ढकालले बताए।
बैठकमा सांसदहरूले भूमिहीन तथा सुकुम्बासी बस्तीबाट हटाइएका बालबालिकाको पढाइ–लेखाइको अवस्थाबारे समेत चासो व्यक्त गरेका थिए। सो क्रममा सरकारले विद्यालय बसको व्यवस्था गरेको तथा सुत्केरी महिलाका लागि पोषण सम्बन्धी व्यवस्था मिलाइएको जानकारी प्राप्त भएको सभापति ढकालले जानकारी दिए।