सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अछाम साप्ताहिक उडानको घोषणा पाँच महिनादेखि अलपत्र

२०७६ भदौ १२, ०६:३७ नवराज पनेरु

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगर सम्म साप्ताहिक हवाई सेवाको घोषणा अलपत्र परेको छ। नीजि हवाई कम्पनी समिट एयरले पहिलोपटक गत बर्षको चैत ८ गते धनगढीदेखि अछामको साँफेबगरसम्मको उडान सञ्चालन गर्दै हप्ताको एक दिन नियमित उडान भर्ने घोषणा गरेको थियो।

यस क्षेत्रका यात्रुको सहजताका लागि भन्दै प्रत्येक शुक्रवार उक्त सेवा सञ्चालन गरिने दावी गरिएको थियो। तर पहिलो पटक चैत ८ गते हवाई सेवा सञ्चालन गरेपछि त्यसपछि एक पटक समेत हवाई सेवा सञ्चालन नभएको धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले बताए।

‘चैत ८ गते समिट एयरका प्रतिनिधि भनिएका दिपक दुवालले चार्टर गर्दै धनगढीदेखि अछाम सम्म हवाई सेवा सञ्चालन भएको थियो,’ उनले भने, ‘सो समयमा नियमित उडानको विषयमा मैले पनि सुने, धेरै पटक सम्पर्क गर्न खोजे तर दुवाल सम्पर्कमा नै आएनन्।’ उनका अनुसार समिट एयरलाई पनि सोही विषयमा बुझ्दा धनगढीदेखि अछाम सम्म नियमित उडानका लागि छलफल समेत भएको थिएन्। 

५ महिना सम्म एक पटक पनि हवाई सेवा सञ्चालन नभएपछि समिट एयर र उस्का प्रतिनिधिले झुठो आश्वासन बाड्दै झुक्याएको आरोप समेत लागेको छ। चार्टर गरेर एक पटक धनगढी–अछाम हवाई सेवा सञ्चालन गर्दै नियमित उडानको आश्वासन दिएर झुक्याएको आरोप उनीहरुको छ। 

सो समयमा दुवालले धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न सकिने भन्दै हवाई सेवा सञ्चालन गर्दा यात्रुको चाप र मागलाई मध्यनजर गरी हप्तामा सातै दिन पनि उडान भर्न सकिने दावी गरेका थिए। धनगढीदेखि साँफेबगरसम्मका लागि ३ हजार ३ सय ५० रुपैयाँ भाडादर कायम पनि गरिएको थियो।

चैत ८ गते यात्रुहरुकै लागि धनगढी–साँफेवगर हवाई सेवा सुरु गरिएको भनिएपनि अहिले आएर चार्टर गरेर हवाई सेवा सञ्चालन भएको खुलेको छ। समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालको भने लुक्लामा समिट एयरको विमान दुर्घटना भएकोले तत्कालीन समयमा गरिएको घोषणा पूरा नभएको बताए। ‘धनगढीदेखि अछाम सम्म नियमित उडानका लागि अहिले अनुमती माग्ने प्रक्रिया अगाडी बढेको छ,’ दुवालले भने, ‘छिट्टै नियमित उडान सुरु गर्ने तयारीमा छौ।’

तर एक पटक विमान चार्टर गरेर नियमित उडानको आश्वासन दिएका दुवालले अछाम जिल्लाबाट ठूलो रकम संकलन गरेर अहिले सम्पर्कमा समेत आउन नखोजेको आरोप पनि लागेको छ। धनगढी–साँफेबगर नियमित हवाई सेवा सञ्चालन हुँदा अछामसहित बाजुरा र डोटी जिल्लाका यात्रुलाई पनि सहज हुने थियो।

नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि साँफेसम्म निरन्तर दोहोरो उडान सञ्चालन गरिरहेकामा फागुन २२ गतेदेखि समिट एयरले पनि नेपालगञ्जदेखि साँफेबगर उडान सुरु गरेको थियो। तर धनगढी–साँफे नियमित उडानका लागि प्रयास भईरहेको धनगढी विमानस्थलका प्रमुख बुढथापाले बताए। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस