धनगढीका सरकारी विद्यालयको एसइई नतिजा सुधारोन्मुख, तर चार जिपिए ल्याउने विद्यार्थी शून्य
धनगढी: धनगढीका सरकारी विद्यालयका नतिजा सुधारोन्मुख भए पनि सन्तोषजनक भने हुन नसकेको सरोकारवालाले बताएका छन् । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सरकारी विद्यालयको नतिजा सन्तोषजनक नदेखिएको हो । सुदूरपश्चिम प्रदेशको सरकारी विद्यालयबाट दिएका कुनै पनि विद्यार्थीले चार जिपिए प्राप्त गर्न सकेनन् ।
शिक्षा विकास निर्देशनालय डोटीका अनुसार निजीतर्फबाट परीक्षा दिएका १० जनाले चार जिपिए ल्याए पनि सरकारी विद्यालय भने चार जिपिए ल्याउने विद्यार्थी शून्य रहे । कैलालीका चार र कञ्चनपुरका छ जना निजी विद्यालयका विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याएको निर्देशनालयका सूचना अधिकारी प्रेमलाल हरिजनले जानकारी दिए।
कैलालीबाट ऐश्वर्य विद्या निकेतनका दीक्षान्त भट्टराई, फारवेस्टर्न सेकेन्डरी स्कुलका प्रज्वल भट्ट, माउन्ट सैपाल इन्टरनेसनल एकेडेमीका हृदय कुँवर र डिस्कोभरी इङ्लिस स्कुलका अनुपराज गिरीले चार जिपिए प्राप्त गरेर एसइई उत्तीर्ण गरेको जनाइएको छ । चार जिपिए ल्याएर परीक्षा उत्तीर्ण गरेका कञ्चनपुरका छ जना विद्यार्थीको नाम भने प्राप्त नभएको सूचना अधिकारी हरिजनले जानकारी दिए।
२०८२ सालको एसइईमा यस प्रदेशबाट ४५ हजार ७०४ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये १९ हजार ३३४ (४२.३० प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । २६ हजार ३७० (५७.७० प्रतिशत) विद्यार्थी भने नन् ग्रेडेड (एनजी) भएको निर्देशनालयले जानकारी दिएको छ ।
कैलारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले सरकारी विद्यालयका नतिजा सन्तोषजनक नरहे पनि सुधारोन्मुख रहेको दाबी गर्नुभयो । उहाँले अघिल्लो एसइईमा निकै कमजोर आफ्नो पालिकाको नतिजामा यस वर्ष पाँच प्रतिशतले सुधार आएको पनि उल्लेख गरे।