सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल

२०८३ वैशाख ३०, ०२:५६ रासस

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल सुरु गरेको छ। कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुईवटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको थियो।
 
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले सो घटनाबारे छानबिन गर्न र तत्काल मर्मत गरी प्रसारण लाइन सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै टावर पुनर्निर्माण गरी विद्युत् सञ्चालन गर्न पहल भइरहेको जनाएको छ। हुरीबतासका क्रममा रुख ढल्दा दुईवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार उक्त घटनापछि प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिसकेको छ। प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मा आरएस इन्फ्रा कम्पनीले लिएको थियो। हालको क्षतिमा टावरको फाउन्डेसन नै पुनर्निर्माण गर्नुपर्ने अवस्था देखिएको र मर्मत तथा पुनस्र्थापना गर्न करिब तीन साता लाग्ने अनुमान गरिएको छ। 

१३२ केभी लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् आपूर्ति सुरु गरिएको छ। तर उक्त लाइनको क्षमता कम भएकाले विद्युत् सेवा प्रभावित भइरहेको बताइएको छ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने लक्ष्यसहित निर्माण गरिएको पूर्वाधार आयोजना हो।

कमेन्ट लोड गर्नुस