सुदूर नेपाललाई विश्वसँग जोड्दै

१५ वर्षसम्म पनि सञ्चालनयोग्य बनेन गुइगाड खोला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय

२०८३ वैशाख २१, ०३:११ रासस

बाजुरा: बाजुरा को सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अन्तर्गत पर्ने गुइगाड खोला पुल १५ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनयोग्य बन्न नसक्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

निर्माण सम्पन्न भएको दाबी गरिए पनि पुलको गुणस्तर कमजोर देखिएपछि हालसम्म पास हुन सकेको छैन। लोड परीक्षणका क्रममा ४५ टन भार धान्नुपर्ने पुलले ३० टन भारसमेत धान्न नसकी चर्किएको पुष्टि भएपछि पुल प्रयोग झनै जोखिमपूर्ण बनेको छ।

सडक डिभिजन कार्यालय साँफेबगर ले दुर्घटना न्यूनीकरण गर्न पुलमा ‘एक पटकमा एउटा मात्र सवारी’ सञ्चालन गर्ने सूचना टाँसेको भए पनि सवारी क्षमताबारे स्पष्ट नहुँदा अन्योल बढेको यातायात व्यवसायीहरू बताउँछन्।

पुल निर्माण २०६८ सालमा सुरु भई २०७० भित्र सम्पन्न गर्ने सम्झौता भए पनि ठेकेदार कम्पनी राजेन्द्र थिगिन जेभी ले समयमै काम पूरा गर्न सकेको छैन। निर्माण सम्पन्न भएको केही वर्षमै पुल जीर्ण बन्दै गएको छ भने खोलाको कटानले पिल्लरहरू कमजोर बनाएको छ।

सडक डिभिजन कार्यालयका अनुसार करिब ५ करोड ९६ लाख रुपैयाँ लागत रहेको उक्त पुलका लागि ९५ प्रतिशतभन्दा बढी रकम भुक्तानी भइसकेको छ। तर अपेक्षित गुणस्तर नआएपछि परिणाम निराशाजनक बनेको छ।

स्थानीयवासीले पुलको तत्काल पुनःनिर्माण गर्न माग गरेका छन्। स्थानीय मङ्गल विक ले मुख्य सडककै पुल कमजोर हुँदा जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस