सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारका ४ मुख्य निर्णय सार्वजनिक: मल खरिददेखि संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस

२०८३ वैशाख २१, ०१:४३ खबर संवाददाता

काठमाडौं: सरकारले हालै बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले चार महत्वपूर्ण निर्णयबारे जानकारी दिएका हुन्।

बैठकले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश २०८३ राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता आएको सन्दर्भमा पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

त्यसैगरी, भारतसँग सरकार–सरकार (जी टू जी) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।

औद्योगिक क्षेत्रमा परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न, उद्योगहरूलाई कर्जा उपलब्ध गराउन तथा वायु गुणस्तर मापन क्षमता विस्तार गर्न विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरिएको छ।

यस्तै, सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गरिएको छ, जसमा संसद् भवन परिसरमा प्रवेश व्यवस्थालगायतका विषयहरू समेटिएका छन्।
 

कमेन्ट लोड गर्नुस