सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनःस्थापनाको माग सहित कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि अर्धनग्न प्रदर्शन गर्दे आरक्ष पीडितहरू । तस्बिर : भवानीदत्त भट्ट (गोरखापत्र)
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि अर्धनग्न प्रदर्शन गर्दे आरक्ष पीडितहरू । तस्बिर : भवानीदत्त भट्ट (गोरखापत्र)
२०८३ वैशाख ९, ०३:४०

कञ्चनपुरः बुधबार दिउँसो १२ बजे टन्टलापुर गर्मीमा पुनस्र्थापनाको मागसहित आरक्ष पीडितहरूले अर्धनग्न रूपमा प्रदर्शन सुरु गरेका छन् । 

चर्को गर्मीका कारण दिउँसो बाहिर निस्कनै मुस्किल पर्दे गएको अवस्थामा आरक्ष पीडितहरू भने अर्धनग्न भएर पुनस्र्थापनाको मागसहित जिल्ला प्रशासन कार्यालय अगाडि शान्ति पूर्ण आन्दोलनमा उत्रिएका छन् । 

गत साताको शुक्रबार देखि पुनस्र्थापनाको मागसहित प्रशासन मूल गेट अगाडि धर्ना दिन सुरु गरेका आरक्ष पीडितहरूले बुधबार देखि भने आन्दोलनको स्वरूप परिवर्तन गर्दे चर्को गर्मीमा अर्धनग्न भएर प्रदर्शन थालेका हुन् । 

७० वर्षीय आरक्ष अमरजङ्ग साहीले आफूहरूबाट जमिन खासेको २४ वर्ष बितिसक्दा समेत सरकारले पुनस्थापना नगरेको भन्दै चर्को गर्मीमा अर्धनग्न भएर शान्ति पूर्ण आन्दोलनमा उत्रिएको बताए। 

“रातिको समयमा बिच्छी, सर्प, मच्छरको परवाह नगरेर सडक छेउमा पाल मुनि सुत्दै आएका छौँ”, उनले भने, “आरक्ष पीडितहरूको स्वास्थ्य, खानपिन आधारभूत आवश्यकताबाट वञ्चित गर्दे आएको सरकारको विरुद्धमा उत्रिन बाध्य छौँ ।”

निर्वाचन पूर्व जमिनको मालिक बनाउने बाचा गरेको वर्तमान सरकारले कुनै कार्य नगरेपछि आफूहरू शान्तिपूर्ण रूपमा आन्दोलित हुनुपरेको आरक्ष पीडित सङ्घर्ष समितिका सचिव कृष्ण भट्टले बताए। 

सरकारले माग पूरा नगरुन्जेल निरन्तर आन्दोलनमा उत्रिने उनले चेतावनी दिए। आरक्ष पीडितहरूलाई द्वन्द्व पीडित घोषणा गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन उनले सरकारसँग माग गरे।  

आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले बहुमतको सरकार बनेको अवस्थामा समेत आरक्ष पीडितहरूको पुनस्र्थापनाका लागी वर्तमान सरकारले वास्ता नगरेपछि आन्दोलित हुनुपरेको बताए।  

सरकारले माग पुरा नगरुन्जेल निरन्तर आन्दोलनमा उत्रिने उनले बताए। गत शुक्रबार देखि जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना बसेर आरक्ष पीडितहरूले १० कट्ठा जमिन नघटाई उपलब्ध गराउनुपर्ने, आधारभूत कुराहरूको निःशुल्क र ग्यारेन्टी गरिनुपर्ने, आरक्ष पीडितहरूको एउटै वडा घोषणा गरिनुपर्ने, आरक्ष पीडितहरूलाई द्वन्द्व पीडित घोषणा गरिनुपर्ने लगायतका मागहरू राख्दै आएका छन् । 

निरन्तर आन्दोलनका स्वरूप परिवर्तन गर्दे आरक्ष पीडितहरूले शान्तिपूर्ण रूपमा पर्दशन गरिरहेका छन् ।  विसं २०५८ सालमा निकुञ्ज विस्तारका क्रममा विस्थापित पारिएका दुई हजार ४७३ आरक्ष पीडित परिवारहरू हाल महेन्द्रनगर स्थित जडिबुटीको सार्वजनिक जमिनमा अस्थायी टहरा बनाएर कष्टकर जीवन बिताउन बाध्य छन् ।


 

कमेन्ट लोड गर्नुस