सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

२०७६ भदौ ९, ०६:१९ खबर संवाददाता

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछानेलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ। युवराज कँडेललाई ३ लाख धरौटी र नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्न जिल्ला अदालतले आदेश गरेको हो। सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो।

पीडितका तर्फबाट तीन जना सरकारी वकिल र चार जना प्राइभेट वकिलले बहस गरेका थिए।  आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका रविसहित तीनजनाविरुद्ध चितवन जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको हो। अब उहाँहरुले धरौटी बुझाएपछि थुनामुक्त गरिनेछ।

अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै तीनै जनाले हिरासत बाहिरै रहेर थप कानूनी प्रक्रियाको सामना गर्नेछन्। लामिछानेसहित ३ अभियुक्तविरुद्ध लागेको आरोप भने अन्तिम फैसला आएपछि मात्रै पटाक्षेप हुनेछ। यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

पत्रकार शालिकराम पुडासैनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए। आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको हो।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ। 
 

कमेन्ट लोड गर्नुस