सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कनरी पार्क हस्तान्तरणमा ढिलाई, १० बर्षका लागि नीजि क्षेत्रलाई दिने तयारी

२०७६ भदौ ९, ०७:११ नवराज पनेरु

सघन सहरी विकास कार्यक्रम अन्तरगत धनगढीमा पौने तीन करोडको लागतमा निर्माण गरिएको कनरी पार्क हस्तान्तरणमा ढिलाई भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १५ मा कनरीमा पार्कको निर्माण सम्पन्न भएको साढे सात महिना पुगिसक्दा समेत अहिले सम्म हस्तान्तरणको प्रक्रिया अगाडी नबढेको हो।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले सघन सहरी विकास कार्यक्रम अन्तरगत उक्त पार्क बनाएको थियो। पार्क निर्माणका लागि देवसिँह÷एलबि जेभिसंग २०७४ असार ३० गते ठेक्का सम्झौता गरेको थियो। २०७५ पौष २९ गते सम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेकोमा पार्कको निर्माण चार दिन अगाडी नै सम्पन्न भएको थियो।

तर निर्माण सम्पन्न भएको साढे सात महिना पुगिसक्दा समेत संघीय आयोजना कार्यान्वयन इकाईले उप–महानगरपालिकालाई हस्तान्तरण गरेको छैन्। उप–महानगपालिकाले औपचारिक कार्यक्रम गरेरै पार्कको उद्धघाटन गर्ने र स्वामित्व ग्रहण गर्ने बताएपछि हस्तान्तरण हुन बाँकी रहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईका ईन्जिनियर तथा कनरी पार्कका साईड ईन्चार्ज झंकर थापाले बताए। 

‘पार्क हस्तान्तरणका लागि साउनमा एक पटक मिति तोकिएपनि सो मितिमा कार्यक्रम हुन सकेन,’ ईन्जिनियर थापाले भने, ‘अव उप–महानगरपालिकासंग छलफल गर्दै छिट्टै पार्क हस्तान्तरण गर्ने योजना छ।’ दुई करोड ७४ लाखमा निर्माण गरिएको उक्त पार्क भित्र दुई वटा पोखरी, तीन वटा बनभोज स्थल, मन्दिर लगायतका रमणीय संचनाहरु निर्माण गरिएको उनले बताए। सञ्चालनपछि पार्कले पर्यटक तान्नेमा विश्वास गरिएको छ। 

यता उप–महानगरपालिका भने स्वामित्व ग्रहण नगर्दै एकै पटक १० बर्षका लागि नीजि क्षेत्रलाई पार्क सञ्चालनका जिम्मेवारी दिने दाउँमा देखिएको छ। उप–महानगरपालिकाले नीजि क्षेत्रलाई पार्क सञ्चालनको जिम्मेवारी दिन १५ दिनको म्याद राख्दै  साउन २२ गते आसय पत्र प्रकाशन गरेको थियो। भदौ ५ गते म्याद सकिएकोमा एक जनाको आवेदन मात्रै परेकोले उप–महानगरपालिकाले समय थप्ने मनसाय बनाएको छ।

‘उप–महानगरपालिले आह्वान गरेको आसयपत्रको सूचनामा साझेदार सस्थाको हकमा कम्तिमा दुई बर्ष सरकारी निकायसंगको साझेदारीमा काम गरेको हुनुपर्ने र पछिल्ला दुई आर्थिक बर्षमा कम्तिमा एक करोडको कारोवार भएको हुनुपर्ने प्रावधान राखेको छ,’ धनगढी उप–महानगरपालिकाका ईन्जिनियर द्धिजराज भट्टले भने, ‘एकै पटक १० बर्ष सम्मका लागि पार्क सञ्चालन गर्ने जिम्मेवारी नीजि क्षेत्रलाई दिने तयारी छ।’

सोही पार्कमा थप संरचना निर्माणका लागि बजेट आएकाले सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले प्रक्रिया अगाडी बढाएको छ। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस