उपसभामुख पदमा श्रम संस्कृति पार्टी लाई समर्थन गर्ने रास्वपाकाे निर्णय
काठमाडौंः प्रतिनिधि सभा संसद्को उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम संस्कृति पार्टी लाई समर्थन गर्ने निर्णय गरेकाेे छ।
रास्वपाको समर्थनपछि श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर को पक्षमा दुई तिहाइभन्दा बढी मत सुनिश्चित हुने देखिएको छ, जसले उनको जित लगभग पक्का बनाएको छ। संसद्मा पहिलो पटक प्रवेश गरेको सात सांसद रहेको दलका लागि यो उच्च पद ऐतिहासिक उपलब्धि बन्नेछ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी ले नयाँ राजनीतिक शक्तिहरूबीच सहकार्यको सन्देश दिन यस्तो निर्णय गरिएको बताएका छन्।
संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गका हुनुपर्ने भएकाले रास्वपाले यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीबीच समर्थन कसलाई गर्ने भन्ने विषयमा छलफल चलाएको थियो।
यसैबीच राप्रपा नेता ज्ञानेन्द्रबहादुर शाही ले रास्वपा सभापति रवि लामिछाने सँग भेट गरी समर्थनबारे सहमति नजिक पुगेको दाबी गरेका थिए। राप्रपाले सरस्वती लामा लाई उम्मेदवार बनाउने तयारी समेत गरेको थियो।
तर अन्तिम समयमा रास्वपाले श्रम संस्कृति पार्टीतर्फ झुकाव देखाउँदै समीकरण उल्ट्याइदिएको हो। स्रोतका अनुसार रास्वपाका नेताहरूले श्रम संस्कृति पार्टीसँग प्रत्यक्ष छलफल गरेर समर्थन टुंग्याएका हुन्।