सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसीसी यू–१९ एसिया कपका लागि नेपाली टिम श्रीलंका प्रस्थान

२०७६ भदौ ७, ०३:५२ खबर संवाददाता

एसीसी यू–१९ एसिया कपका लागि नेपाली टिम श्रीलंका प्रस्थान गरेको छ। प्रतियोगिता सेप्टेम्बर ५ तारिखदेखि सुरु हुने भए पनि नेपाली युवा टिम अभ्यास खेलका लागि अगाडि नै श्रीलंका प्रस्थान गरेको हो। घरेलु मैदानमा दुई हप्ताको तयारीपछि श्रीलंकामा तीन ओटा अभ्यास खेलका लागि नेपाली युवा टिम निर्धा्रित मितिभन्दा पहिले नै श्रीलंका गएको हो।

श्रीलंकाको वातावरणमा भिज्न र प्रशिक्षणका साथै स्थानीय क्लबसँगको अभ्यासका लागि नेपाली टिम गएको हो। नेपालले श्रीलंकामा अभ्यासका साथै ’ए’ डिभिजन क्लबसँग अभ्यास खेल्नेछ। नेपाली युवा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले शुभकामनासहित बिदाइ गरे। उपाध्यक्ष तिम्सिनाले नेपाल टिमले राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए।

यस्तै टिमका कप्तान रोहित पौडेलले घरेलु तयारी सोचेको जस्तो नभए पनि आफूहरुले श्रीलंकामा अन्तिम तयारी गरेर एसिया कपमा राम्रो गर्ने बताए। उनले टिममा यसपटक सबै अनुभवी खेलाडी रहेकाले एसिया कपमा सेमिफाइनलसम्म पुग्ने सम्भावना रहेको बताए। 

यस्तै प्रशिक्षक विनोद दासले टिमले योजना अनुसारको तयारी नपाए पनि पछिल्लो केही महिनादेखि टिमको सेटअप राम्रो रहेकाले एसिया कपमा राम्रो नतिजाको अपेक्षा गरेको धारणा राखे। नेपालले एसिया कपको तयारीका लागि एसियन क्रिकेट काउन्सिल(एसीसीसँग सुरुवातमा भारतमा प्रशिक्षणका लागि आग्रह गरेको थियो।

तर एसीसीले त्यो प्रस्तावलाई अस्वीकार गरे पनि श्रीलंकामा नै पाकिस्तान र अफगानिस्तानसँग अभ्यासका लागि अनुरोध गरेको थियो। तर एसीसीले त्यो आग्रह पनि सम्भव नभएको बताएपछि अन्तिममा नेपालले स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने तय भएको हो।

समूह ’बी’ मा रहेको नेपालले पहिलो खेलमा श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्नेछ। त्यसपछि ८ तारिखमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश हुनेछ। समूहको अन्तिम खेलमा नेपालले सेप्टेम्बर १० मा यूएईसँग खेल्नेछ। समुहका दुई शीर्ष टिमले सेमिफाइनलमा स्थान बनाउने छन।
 

कमेन्ट लोड गर्नुस