धनगढीमा भारतबाट माग्न आएकाहरूकाे बिगबिगी
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भारतबाट आएका सहयोगापेक्षीको बिगबिगी बढेको छ ।
भारतको विभिन्न ठाउँबाट बालबच्चासहित आएका सहयोगापेक्षीले स्थानीयवासी, व्यापारी, बटुवालाई हैरान पार्ने गरेका छन् । उनीहरूले धनगढी उपमहानगरपालिकाको धनगढीगाउँ र भुइँयाघाट जोड्ने सडक किनारमा डेरा हालेर बस्दै विभिन्न टोल र बजारक्षेत्रमा माग्ने काम गरिरहेका छन् । यो कार्यमा २०/२५ परिवारका व्यक्ति सक्रिय छन्।
सहयोगापेक्षीका अनुसार चमार जातका मगन्ते बहराइच जिल्लाबाट आएका हुन् । चमार पुरुष जोगीको भेषमा (पहेँलो वस्त्र र चन्दन टीका लगाएर) माग्न जाने गरेका छन् । साँझपख फर्केर मासु, मदिरा खाएर होहल्ला गर्दै समुदायलाई हैरान पार्ने गरेको स्थानीयको गुनासो छ । महिला, बालबच्चा भने गाउँघर र सहरबजारमा माग्न जाने गर्छन् ।
उनीहरूका अनुसार मागेर दिनमा एक जनाले पाँच सयदेखि एक हजार रुपियाँसम्म कमाउने गरेका छन् । चैतदेखि जेठसम्म नेपालमामाग्ने काम गर्ने गरेको सुदेश बङ्गलियाले बताए। उनले धनगढी, महेन्द्रनगर हुँदै सुर्खेत, दाङसम्म पुगेर माग्ने गरेको बताए।
अर्थतन्त्रमा नेपालभन्दा भारत अगाडि छ तर भारतका सहयोगापेक्षीको रोजाइमा भने नेपाल परेको छ । यसको कारण हो, कागजी नोटको मात्रै प्रचलन । उनीहरूका अनुसार भारतमा माग्न जाँदा उनीहरूलाई भारु एक रुपियाँ सिक्का मात्रै दिइने गरिन्छ । नेपालमा सबैभन्दा कम दिए पनि पाँच रुपियाँको नोट पाउने गर्छन् । यहाँ सिक्काको प्रयोग कम हुने भएको र पाँच रुपियाँभन्दा माथि पाइने गरेकाले नेपालमै मागेर गुजारा गरिरहेको नवविवाहित युवा कालीचरण बङ्गलियाले बताए।
खुला सिमानाको फाइदा उठाएर बर्सेनि जहान परिवारसहित माग्न आउने भारतीय आधार कार्डधारी मगन्तेले कैलालीमा नेपाली नागरिकता लिने प्रयाससमेत गरेको बताएका छन् । धनगढीको राजपुरमा लामो समयसम्म बसेको बेला कैलालीमै नागरिकता लिने प्रयास गरेको सुदेश बङ्गलिया बताउँछन्। उनले भने, 'तर यहाँको कानुन कडा भएकाले लिन सकिएन । बाँकेको खजुरामा भने स्थायी बसोबासी चार सयदेखि पाँच सय बङ्गलिया परिवारले नागरिकता पाएका छन् ।'
सुदेशले आफ्ना पुर्खा पनि नेपालमा माग्न आउने गरेको बताए। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले नेपालमा घुम्न आउने र माग्न आउने भाारतीय छुट्याउन समस्या भएका कारण सिमानामा रोक्न नसकेको बताए। उनले भने, 'यहाँ माग्नकै लागि आउन लागेको भनेर कोही पनि भन्दैन ।'
भारतबाट आएका यस्ता सहयोगापेक्षीले नागरिकता लिन खोजेको विषय भने गम्भीर रहेको जोशीको भनाइ छ । उनले कैलाली जिल्ला प्रशासनले त्यसरी कसैलाई पनि नागरिकता नदिएको उल्लेख गरे।