सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको घोषणा पत्रः युवालाई मासिक १० जीबी डेटा निःशुल्क, सुत्केरीलाई २० हजार भत्ता

२०८२ फाल्गुन ७, ०३:४७ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली ले काठमाडौंमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा युवा, महिला, श्रमिक, गरिब परिवार तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न आर्थिक तथा सामाजिक कार्यक्रम समेटिएका छन्। घोषणापत्रअनुसार युवालाई उद्यमशीलता प्रवर्द्धन गर्न १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराइने उल्लेख छ। साथै युवालाई प्रत्येक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ।

गरिब तथा विपन्न परिवारका लागि २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गरिने जनाइएको छ। महिला उद्यमीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ।

श्रमिकको हकहितका लागि न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ तोक्ने र सामाजिक सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता गरिएको छ। त्यसैगरी पारिश्रमिकसहितको इन्टर्नशीप कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।

स्वास्थ्य तथा सामाजिक सुरक्षाका कार्यक्रमअन्तर्गत किशोरीलाई निःशुल्क स्यानिटरी प्याड, सुत्केरी महिलालाई २० हजार रुपैयाँ भत्ता तथा ५ लाख रुपैयाँ बराबरको निःशुल्क जीवन बीमा उपलब्ध गराउने घोषणा गरिएको छ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले घोषणापत्रमा उल्लेखित कार्यक्रमहरू कार्यान्वयनमार्फत रोजगारी सिर्जना, आर्थिक सुधार र सामाजिक न्याय सुनिश्चित गर्ने दाबी गरेका छन्। 

कमेन्ट लोड गर्नुस