सरकारमा पुगे सबै दल हिँड्ने बाटो बनाउँछौँ : धनगढीमा बालेन शाहको ‘सुदूरपश्चिम केन्द्रित’ प्रतिबद्धता
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह ले आफ्नो पार्टी सरकारमा पुगे काँग्रेस, एमाले, माओवादी सबै हिँड्ने बाटो निर्माण गर्ने बताएका छन्।
धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देश बनाउने स्पष्ट दृष्टिकोण रास्वपामै मात्र रहेको दाबी गरे। 'सरकारमा गयौँ भने सबै दल हिँड्ने बाटो बनाउँछौँ,' उनले भने, 'हामी प्रतिस्पर्धा गर्छौँ, तर देश बनाउने काम साझा हुनुपर्छ।'
शाहले नेपाललाई ‘स्वीजरल्याण्ड’ बनाउने नारामाथि प्रश्न उठाउँदै देशमै रहेका प्राकृतिक सम्पदा र सम्भावनालाई प्राथमिकतामा राख्नुपर्ने बताए। 'मान्छेहरू देशलाई स्वीजरल्याण्ड बनाउनुपर्छ भन्छन्, किन बनाउनुपर्यो् स्वीजरल्याण्ड? त्यसको पराकाष्ठा राम्रो पक्ष यहीँ छ,' उनले भने, 'खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ, किन चाहियो स्वीजरल्याण्ड? हामीसँग भएको चिज देखाउन सकेका छैनौँ।'
उनले सुदूरपश्चिमको पहिचान र सम्भावनालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्ने धारणा राखे। सुदूरपश्चिमको गीत काठमाडौँका चोक–चोकमा गुन्जिएपछि मात्रै वास्तविक अर्थमा राजधानी र सुदूरपश्चिमबीचको दूरी घट्ने उनको भनाइ थियो।
शाहले रास्वपा भोट माग्न मात्रै नभई काम गर्ने प्रतिबद्धतासहित आएको उल्लेख गर्दै पार्टीका नेता तथा उम्मेदवारलाई अवसर दिन आग्रह गरे। सुदूरपश्चिमको सपना पूरा गर्ने, स्वास्थ्य–शिक्षा सुधार गर्ने र वर्षौँदेखि अलपत्र पूर्वाधार निर्माण सम्पन्न गर्ने आफ्नो प्राथमिकता रहेको उनले दोहोर्या्ए।