सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा अलैँची खेतीतर्फ किसानको आकर्षण बढेन्

फाईल फोटो
फाईल फोटो
२०७६ भदौ १, ०२:४४ रोशन भट्ट

सुदूरपश्चिम प्रदेशमा अलैँची खेतीको पर्याप्त सम्भावना भएपनि किसानको आकर्षण बढ्न सकेको छैन्। मानव जिवनको लागि बहुउपयोगी मानिने अलैँची  खेती सुदूरपश्चिमका पहाडी जिल्लामा विस्तार हुन नसकेको हो। कालो सुन भनेर चिनिने अलैँचीलाई धान फल्ने खेत, कोदो, मकै, गहुँ, जौँ जस्ता अन्नबाली उत्पादन हुने क्षेत्रमा लगाउन सकिन्छ।

संघिय कृषि मन्त्रालयको तथ्यांक अनुसार अहिले नेपालको १३ हजार हेक्टर क्षेत्रफलमा अलैंची लगाईने गरेको भएपनि सुदूरपश्चिममा मात्र कति छ भन्ने तथ्यांक संकलन नभएको प्रदेशको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए। बजारको सीमितता, मूल्यमा आउने उतार चढाव लगायतका विभिन्न कारणले अलैँची खेती तर्फ किसानको आकर्षण बढ्न नसकेको हो।

समुद्री सतहबाट आठ देखि १८ सय मिटरसम्मको उचाईमा राम्रो उत्पादन दिने अलैंची २४ सय मिटर सम्म फल्ने गरेको छ। वार्षिक दुई हजारदेखि २५ सय मिलिमिटर सम्म वर्षा हुने ठाउँमा यसको राम्रो उत्पादन हुने गरेको छ। आठ देखि २० डिग्रीको तापक्रम र भिरालो चिस्यानयुक्त छायाँदार जमिन अलैंचीका लागी उपयुक्त हुने विज्ञहरूले बताएका छन्।

अलैंची प्रशोधनमा परम्परागत प्रविधि नै हाबी रहनु र सरकारी अनुदान नहुनुले अलैंचीको बजार साँघुरो हुदै गएको छ। प्रदेशको कृषि मन्त्रालयले गत आर्थिक वर्षमा ६० हजार भन्दा अलैंँचीका विरुवाहरु वितरण गरिएको दावी गरेपनि त्यसको प्रभावकारिता भने देखिएको छैन्।

चालु आर्थिक वर्षमा भने मन्त्रालयले अलैंचीकै लागि बजेट विनियोजन गरेको छैन्। यद्यपी किसानहरुबाट माग आएपछि सहयोग गर्ने प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले बताए। पाखो जमिनमा कम मेहनेतमै अलैँची खेती गर्न सकिने पर्याप्त सम्भावना भएपनि किसानको आकर्षण बढ्न नसकेको विज्ञहरुले बताएका छन्।

अलैंचीको राम्रो फल खान तीन वर्ष पर्खनुपर्छ। पहिलो वर्ष सर्ने, दोस्रो वर्ष मजबुत भएर फूल लगाउने र तेस्रो वर्ष फल दिने हुन्छ। राम्रो मलजल हुने ठाउँमा भने दुई वर्षमा पनि फल लाग्ने गरेको विज्ञहरु बताउछन्। 
 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस