दार्चुलामा प्रहरीको हत्या गर्ने मुख्य अभियुक्त पक्राउ
धनगढी: दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणका मुख्य आरोपी आशिष पाल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयको टोलीले पाललाई दुहुँ गाउँपालिकाको हिकिलाबाट बुधबार दिउँसो पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले हिकिलाबाट पाललाई पक्राउ गरिएको पुष्टि गरे । महाकाली नगरपालिका–४ को बाङ्गाबगरमा पालले सञ्चालन गरेको अस्मिता बियर बारमा प्रहरी हवल्दार घर्तीको हत्या गरिएको थियो ।
प्रहरीकाअनुसार पालकी कान्ति श्रीमती दिपिकालाई घर्तीले जिस्काएको निहुँमा उनीमाथि कुटपिट गर्दै हत्या गरेको खुलेको छ । यसअघि दार्चुला प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा पालकी कान्छी श्रीमती दिपिका पाल, २१ वर्षीया पायल लुहार, सुरेन्द्र बम र राजेन्द्र डडाललाई पक्राउ गरिसकेको छ ।
घटनामा फरार रहेका पालकी जेठी श्रीमती लक्ष्मी बडु र भाइ मनिस पालको खोजी भने भइरहेको प्रहरीले जनाएको छ । हत्या गरिएका घर्तीको बुधबार महाकाली नदीमा अन्त्येष्टि गरिएको छ ।