सुदूर नेपाललाई विश्वसँग जोड्दै

साढे २० हजार हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन गरिएको सुदूरपश्चिम सरकारको दावी झुठो भएको आरोप

२०७६ भदौ १, ११:०६ जनक विष्ट

सुदूरपश्चिममा वैज्ञानिक वनका विषयमा आम उपभोक्तालाई बुझाउन नसक्दा कार्यान्वयन चुनौतीपूर्ण देखिएका बेला प्रदेश सरकारले भने गत बर्ष साढे २० हजार हेक्टर क्षेत्रफलमा उक्त कार्यक्रम विस्तार गरेको दावी गरेको छ।

प्रदेशको उद्योग, पर्यटन वन तथा वन मन्त्रालयले गत आर्थिक वर्ष २०७५÷०७६ मा २० हजार चार सय ८० हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरेको जनाएको हो। प्रदेश सरकार गठन हुनुभन्दा सात बर्ष अगाडीदेखि नै सुदूरपश्चिममा वैज्ञानिक वन व्यवस्थापन लागु भएपनि अहिले सम्म २० हजार हेक्टरमा कार्यक्रम विस्तार भएको छैन्।

तर वन मन्त्रालयले भने गत वर्षको वार्षिक प्रगती प्रतिवेदनमा एकै वर्षमा साढे २० हजार हेक्टरमा कार्यक्रम विस्तार गरेको दावी गरेको हो।  वार्षिक प्रगती प्रतिवेदनमा जिल्लागत रुपमा तथ्याङक समावेश नगरिएको भएपनि दार्चुला बाहेकका सबै जिल्लामा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भईसकेको दावी मन्त्रालयको छ। मन्त्रालयले कार्ययोजना स्वीकृत भएका तर कार्यक्रम लागु नभएका वनलाई समेत प्रगती विवरणमा राखिएको आरोप लागेको छ।

संगै प्रदेश सरकार नहुँदा जिल्ला विन कार्यालयले पहिले नै विस्तार गरेको वन क्षेत्रलाई पनि प्रदेश सरकारले आफ्नो उपलव्धीमा जोडेको छ। यता उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृत भरत प्रसाद श्रेष्ठले प्रगती विवरणमा कार्यक्रम लागु भएका र कार्ययोजना तयार भएका वनको क्षेत्रफल पनि समावेश गरिएको जनाए।

सुदूरपश्चिममा ११ लाख ४६ हजार हेक्टर वन रहेकोमा आर्थिक वर्ष २०७४÷०७५ सम्म सात हजार दुई सय हेक्टर क्षेत्रफलमा मात्र  वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु थियो तर प्रदेशको वन मन्त्रालयले लागु हुने प्रक्रियामा रहेका वनलाई पनि प्रगतीमा देखाएपछि यथार्थ तथ्याङ्क पाउँन मुस्किल परेको छ।

झण्डै चार देखि पाँच हजार हेक्टर वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गर्न कार्ययोजना बनेको भएपनि प्रक्रियामै रहेको डिभिजन वन कार्यालय डोटीका प्रमुख वन अधिकृत शम्भु तिवारीले बताए। आर्थिक वर्ष २०६६÷०६७ देखि कार्यक्रम लागु भएको कैलालीमा आर्थिक वर्ष २०७४÷७५ सम्म ४ हजार ७१ हेक्टर क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएकोमा अहिले बढेर आठ हजार पुगेर डिभिजन वन कार्यालयले जनाएको छ।

झण्डै एक लाख ५३ हजार हेक्टर वन क्षेत्र रहेको डडेल्धुरामा अहिले सम्म एक हजार हेक्टरमा मात्र कार्यक्रम लागु भएको छ भने कार्ययोजना स्वीकृत भएका वनमा पनि लागु गर्ने तयारी गरिएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख वन अधिकृत विष्णु आर्चायले जानकारी दिए।

सुदूरपश्चिमका चार जिल्ला कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरा जिल्लाको पाँच प्रतिशत हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु  गर्न सकेमा वार्षिक १० अर्ब आम्दानी गर्न सकिने विज्ञहरुले बताउँदै आएका छन्। तर वैज्ञानिक वन व्यवस्थापन विस्तारमा सरकार नै उदासीन देखिएको छ भने कार्यक्रमका बारेमा आम नागरिकलाई बुझाउन नसक्दा स्थानीय स्तरमा कार्यान्वयन गर्न समस्या भईरहेको छ।

तर वनको संरक्षण गर्दै वनबाटै समृद्धीको सपना पुरा गर्नका लागि वैज्ञानिक वन व्यवस्थापनको नीति सरकारले अगाडी सारेको थियो। वनको दिगो व्यवस्थापन, काठको उच्चतम प्रयोग र नियमित आम्दानीका लागि भन्दै तराईमा ८० र पहाडमा ६० वर्षीय रणनीति सहित वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिदै आएको छ। 
 
 
 
 
 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस