सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन आचारसंहिता पालना गर्न कञ्चनपुरमा कडाइ, सरकारी सवारी दुरुपयोग नगर्न आग्रह

२०८२ माघ २६, १०:०४ रासस

कञ्चनपुर: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा कञ्चनपुर जिल्लामा निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारीसाधन दुरुपयोग भएको गुनासो आएपछि सम्बन्धित निकायले अनुगमनलाई कडाइ गरेको छ।

निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा सरकारी सवारीसाधन राजनीतिक गतिविधिमा प्रयोग गरिएको भन्ने उजुरी प्राप्त भएपछि निगरानीलाई तीव्र बनाइएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मोहनचन्द्र जोशीले जानकारी दिए।

उनले जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गर्ने चारपाङ्ग्रे र दुईपाङ्ग्रे सरकारी सवारीसाधन कार्यालयको नियमित कामकाज बाहेक राजनीतिक कार्यक्रम, जुलुस, सभा, प्रदर्शन तथा अन्य सार्वजनिक गतिविधिमा प्रयोग नगर्न आग्रह गरे।

“सरकारी सवारीसाधनको प्रयोग पूर्ण रूपमा निर्वाचन आचारसंहिता अनुरूप हुनुपर्छ,” जोशीले भने, “आचारसंहिताको पालना नगरेमा नियमानुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।” आचारसंहिता उल्लङ्घन गर्ने गतिविधिमाथि निरन्तर निगरानी भइरहेको उनले स्पष्ट पारे।

कमेन्ट लोड गर्नुस