सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाटन नगरपालिकाका विद्यालय भवन निर्माणमा भएको अनियमितताबारे अनुसन्धान गर्दै अख्तियार

२०८२ माघ २५, ०१:०३ जयन्त सिंह भाट

बैतडीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग  कञ्चनपुरले बैतडीको पाटन नगरपालिकासँग विभिन्न विद्यालय भवन निर्माणसम्बन्धी विवरण माग गरेको छ। 

आयोगले पाटन नगरपालिकामा इन्जिनियरसहित विभिन्न विद्यालय भवन निर्माणमा संलग्न भएको भनिएका व्यक्तिहरूको विवरण उपलब्ध गराइदिन पत्राचार गरेको हो।

अख्तियारले पाटन नगरपालिका नगरपालिकाको कार्यालयलाई पठाएको पत्रमा बैतडीको पाटन नगरपालिकाभित्र इन्जिनियरसमेत विभिन्न विद्यालय भवनहरूको निर्माणमा अनियमितता भएको भन्ने सम्बन्धमा उजुरी प्राप्त भएको उल्लेख छ। 

सोही उजुरीको अनुसन्धानका क्रममा तत्कालीन तथा हालका पदाधिकारीहरूको विवरण आवश्यक परेकाले तत्काल उपलब्ध गराइ अनुसन्धान कार्यमा सहयोग गर्न पाटन नगरपालिकालाई निर्देशन दिएको छ।

अख्तियारले पठाएको पत्रमा ज्ञानेश्वर माविका तत्कालीन प्रधानाध्यापक तर्कराज भट्ट, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिश बिष्ट, विद्यालयका  लेखापाल सहित बझाङको नरेन्द्र निर्माण सेवा प्रालीका सञ्चालक, त्यसैगरी ज्ञानेश्वर माविका प्रधानाध्यापक पुष्पराज जोशी, पाटन नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्ट, शेर बहादुर बुढा र निलम निर्माण सेवा पाटनका सञ्चालक गणेश दत्त भट्टको नाम उल्लेख गर्दै विवरण माग गरिएको छ। 

उक्त पत्रमा आवश्यक विवरण नपठाए अनुसन्धान कार्य प्रभावित हुने जनाउँदै समयमै विवरण उपलब्ध गराउन अख्तियारले स्पष्ट अनुरोध गरेको छ। आयोगका अनुसार प्राप्त उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान अगाडि बढाइएको हो।

यो पनि पढ्नुहोस्।  

बैतडीको पाटन नगरपालिकाका उपप्रमुख र हाकिमसहित १२ जना विरुद्ध अख्तियारमा उजुरी! 


 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस