छोरीलाई डाक्टर बनाउने सपना पूरा नहुँदै बस दुर्घटनामा अस्ताए बझाङका नरेन्द्रराज जोशी
धनगढी: बिहीबार बैतडीमा जन्तीको बस दुर्घटना हुँदा ज्यान गुमाएका बझाङको बित्थडचिर-७ लगुणासाका नरेन्द्रराज र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। ७८ वर्षीय नन्दलाल जोशी र ७५ वर्षीया अम्मरा जोशीका पाँच भाइ छोरामा नरेन्द्रराज साइलो तथा विष्णुदत्त कान्छो सन्तान हुन्।
जेठो दाजु शङ्करदत्त जोशीका माइलो छोराको जन्ती बैतडीको पुर्चौडी-७ भवने गएको थियो। दुलही लिएर फर्किने क्रममा बडूगाउँ घुम्तीमा बस भिरमा खसेको थियो। दुर्घटनामा परेर जोशी परिवारकै सात जना तथा ६ जना आफन्त इष्टमित्रको ज्यान गएको थियो। घटनामा परिवारबाट जन्ती गएकासहित ४५ जना घाइते भएका थिए।
नरेन्द्रराज बझाङकै बित्थडचिर गाउँपालिका-७ का वडा सचीवमा कार्यरत थिए। यस्तै, भाइ विष्णुदत्त बित्थडचिर-२ को महादेव माध्यमिक विद्यालयका शिक्षक हुन्।
मृतक नरेन्द्रराजका एक श्रीमती, एक छोरी र दुई छोरा छन्। घटनामा १८ वर्षीय छोरी हितेश्वरी जोशी पनि घाइते भएकी छन्। जेठो छोरा दीक्षित जोशी कक्षा १२ र कान्छो छोरा विपिन जोशी ७ कक्षामा पढ्छन्। छोरी हितेश्वरी भने एमबीबीएस पढ्ने भन्दै प्रवेश परीक्षाको तयारीमा थिइन्।
गत वर्ष नै सशुल्क तर्फ एमबीबीएसमा नाम निकालेकी हितेश्वरीले पैसा अभावमा भर्ना हुन् नपाएको आमा राधिका जोशीले बताइन्। उनलाई बिडिएस पढ्न कलेजबाट प्रस्थाव आएको थियो तर एमबीबीएस नै पढाउने र छोरीले छात्रवृत्तिमा नाम निकाल्ने भन्दै नरेन्द्रराजले नै छोरीलाई थप तयारी गर्न प्रोत्साहन गरेको आमा राधिकाले बताइन्।
तर छोरीलाई एमबीबीएस पढाउने सपना पूरा गर्न नपाउँदै नरेन्द्रराज जोशी बिहीबार अस्ताउन पुगे। उनको आज बझाङकै कालाङ्गा नदीमा दाहसंस्कार गरिएको छ। बुवाको अकल्पनीय निधनले छोरीको सपना केबल सपनामै सिमित हुने भएको छ। जोशी परिवारमा भएको बज्रपातले अहिले सिङ्गो बझाङ जिल्ला शोकमा डुबेको छ।
यस्तै, घटनामा ज्यान गुमाउने भाइ विष्णुदत्तका एक छोरी र एक छोरा छन्। उनकी पत्नी सरिता जोशी पनि घटनामा घाइते भएकी छन्। कक्षा ११ मा पढ्ने छोरी प्रतिभा र कक्षा ८ मा पढ्ने छोरा प्रतिकसमेत घाइते भएका छन्। यस्तै, घटनामा ज्यान काकाहरूसँगै ज्यान गुमाउने वसन्तराज जोशीका पनि दुई नाबालक छोरा छन्।