सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

२०८२ माघ २२, ०९:१९ खबर संवाददाता

धनगढी: बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। जन्ती बोकेर बझाङ तर्फ जान लागेको पवनदूत यातायातको बस पुर्चौडी नगरपालिका-७ बडूगाउँ मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बझाङको वित्थडचिर गाउँपालिकाबाट बैतडीको पुर्चौडी-७ भवने आएको जन्ती फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको बसमा कति जना यात्रु थिए र कति घाइते भए भन्ने कुराको समेत अझै यकिन भएको छ।

मोडबाट करिब सात-आठ सय मिटर तल खोलामा खसेको बसमा सवार मध्ये १६ जना घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा कोटिला स्वास्थ्य चौकीमा पुर्‍याइएको प्रहरीले जनाएको छ।
प्रहरीले रातिको समय भएकाले बसमा सवार यात्रुको खोजीकार्यमा समस्या भएको जनाएको छ।

प्रहरीले हताहतीको संख्याबारे समेत थाहा हुन नसकेको बताएको छ।

उद्धारका लागि घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी चौकी ढोल्यामोडको प्रहरी टोली खटाइएको छ।

घटनास्थलमा प्रहरी चौकी हाट र हाट स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको बैतडी प्रहरीले बताएको छ।

बस दुर्घटनाको खबर पाउने बित्तिकै घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको तर विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस