वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात
वीरगञ्जः वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा २१ करोड मूल्यको गिरावट आएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए।
जबकी गत आवको छ महिनामा भने ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो। चालु आवको छ महिनामा पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ। जबकी गत आवको सोही अवधिमा भने ६ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो।
चालु आवको छ महिनामा रू तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै आयात भएको छ । त्यस्तै चालु आवको छ महिनामा रू एक अर्ब ६१ करोड मूल्य पर्ने चामल र रू ३३ करोड मुल्य पर्ने माल्ट आयात भएको छ । त्यस्तै रू २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।