सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–५ मा वडा–वडामा काँग्रेसको सम्पर्क कार्यालय स्थापना

२०८२ माघ १३, ०१:३४ खबर संवाददाता

कैलालीः फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली काँग्रेसका नेता नरनारायण शाह (मनु) ले वडा तहमा सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ। निर्वाचन प्रचार–प्रसारलाई प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यका साथ उनले धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन्।

स्थापना गरिएका सम्पर्क कार्यालयलाई निर्वाचन अवधिभर जनताको गुनासो, सुझाव र अपेक्षा सङ्कलन गर्ने केन्द्रका रूपमा प्रयोग गरिने उम्मेदार शाहले बताएका छन्। निर्वाचनलाई सभ्य, मर्यादित र अनुशासित बनाउनु सबै राजनीतिक दल र उम्मेदवारको साझा दायित्व भएको बताउँदै शाहले चुनावी प्रतिस्पर्धाका नाममा आरोप–प्रत्यारोप, व्यक्तिगत आक्षेप र नकारात्मक प्रचारमा नलाग्न समेत आग्रह गरे।

धनगढी उपमहानगरपलिकाका १९ वडा र  कैलारी गाउँपालिकाका ६ र ९ गरी कैलाली ५ मा २१ वडा रहेका छन्। जसमा  उम्मेदवार शाहले सोमबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ११ र १३ मा एकै चरणमा सम्पर्क कार्यालय स्थापना गरेका थिए।

यस्तै आज मङ्गलबार वडा नम्बर १६, १७, १४, १८ र १९ कैलारीका वडा नम्बर ६ र ९ मा सम्पर्क कार्यालय स्थापना गर्ने गर्ने कार्यक्रम रहेको उम्मेदवार शाहको सचिवालयले जानकारी दिएको ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ राजनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानिन्छ। यहाँ विभिन्न दलबिच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। कैलाली ५ मा एमालेका यज्ञराज ढुंगाना, नेपाली कम्युनिष्ट पार्टीका प्रेम आले, रास्वपाका अनन्दबहादुर चन्द लगायतका उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन्। काँग्रेस जस्तै अन्य उम्मेदारहरुले पनि चुनावी गतिविधि अगाडि बढाएको बताइएको छ।

 

कमेन्ट लोड गर्नुस