सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा काजमा समेत डाक्टरलाई काम गर्न नदिने प्रदेश सरकारको चलखेल

२०७६ साउन ३०, ०६:३९ नवराज पनेरु

समायोजनको प्रभावले सुदूरपश्चिमका अधिकासं अस्पतालको सेवा बन्द हुने सम्भावना बढेका बेला प्रदेश सरकार भने मौन बसेको छ। चिकित्सकहरुको अन्यत्र समायोजनले प्रदेश मातहतमा रहेका अस्पतालहरुको सेवा नै बन्द हुने सम्भावना बढ्दै गएपनि प्रदेश सरकार भने मौन रहेको हो। प्रदेश मातहतमा रहेका सेती, महाकाली सहित अन्य जिल्ला र जिल्ला स्तरीय अस्पतालमा कार्यरत चिकित्सकहरुको अन्यत्र समायोजन भएर पदस्थापन हुँदा अस्पतालहरुका विभागिय सेवाहरु बन्द हुँदै गएका छन्। 

समायोजनमा संघीय रोजेर अहिले काजमै भएपनि यसै क्षेत्रका अस्पतालमा काम गर्न ईच्छुच चिकित्सकहरुलाई समेत प्रदेश सरकार बस्न नदिने चलखेलमा लागेको छ। संघीय सरकार मातहतमा रहेका अन्य विभिन्न प्रदेशका अस्पतालमा पदास्थपन भएका अहिले सेतीमा कार्यरत डाक्टरले काजमै भएपनि सेती अस्पतालकामा काम गर्न ईच्छा राखेका छन्। सेतीमा कार्यरत १४ जना डाक्टर मध्ये ११ जनाको अन्य प्रदेशका अस्पतालमा समायोजन भएकोमा सुरुमा ११ जनाले नै काजमा भएपनि सेती अस्पतालमा काम गर्न ईच्छा देखाएका थिए। अहिले ७ जना डाक्टर काजमा काम गर्ने सहमत भएपछि अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई लिखित रुपमै अनुरोध पत्र पठाउका छन्। 

पटक–पटक जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयलाई लिखित र मौखिम रुपमा अनुरोध गरेको मेसु पाण्डेयले बताए। ‘विशेषज्ञ डाक्टरहरुलाई काजमै भएपनि रोक्न नसके अस्पतालका विभिन्न सेवा बन्द हुने देखिएको छ,’ उनले भने, ‘अहिले अन्यत्र समायोजनपछि पदस्थापन भएका डाक्टरले समेत सेतीमा काजमा बस्ने ईच्छा देखाएका छन्, त्यस्मा मन्त्रालयले कत्तिको पहल गरिदिन्छ, हेर्न बाँकी छ।’ समायोजनकै कारण सेती अस्पतालमा चिकित्सक नभएपछि १५ गतेदेखि नाक कान घाटी विभाग बन्द रहेको उनले बताए। प्रदेश सरकारलाई पटक–पटक बैकल्पिक व्यवस्था नभए सम्म काजमै भएपनि अहिले कार्यरत डाक्टरलाई सेती अस्पतालमा काम गर्न दिन माग राख्दै आएको मेसु पाण्डेयले बताए। 

तर प्रदेशको सामाजिक विकास मन्त्रालय भने ति डाक्टरलाई सेतीमा राख्न ईच्छुक देखिएको छैन्। अहिले सेती अस्पतालमा कार्यरत चिकित्सकहरुको यसै क्षेत्रका नीजि अस्पतालमा समेत लगानी भएको र उनीहरुकै कारण अस्पतालको स्वास्थ्य सेवा सुधार नभएकाले उनीहरुलाई काजमा काम गर्न नदिने मनसायमा प्रदेश सरकारको पुगेको बुझिएको छ। तर अहिले अस्पतालमा कार्यरत अधिकासं चिकित्सहरु अन्य पार्टीमा आस्थावान भएकाले पनि उनीहरुलाई सेतीमै काम गर्न नदिने चलखेल भएको श्रोतको दावी छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकरवहादुर विष्टले विगतको कार्य सम्पादन हेरेर कजमा बस्न दिने र नदिने विषयमा निर्णय लिने बताए। उनले अहिलेका डाक्टरहरु अन्यत्र गएपनि सेवा अवरुद्ध हुने अवस्था भने नआउने दावी गरे। 

संघीय स्वास्थ्य मन्त्रालयले पनि प्रदेश सरकारले काजका लागि लिखित आग्रह गरे उनीहरुलाई अर्को विकल्प नहुँदा सम्म काजमा काम गर्न दिने बताईसकेको छ, तर त्यस्का लागि प्रदेशको अनुरोध पत्र मागेको छ। तर अहिले सम्म प्रदेश सरकारले भने लिखित रुपमा पत्र समेत पठाएको छैन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस