८३ वर्षीय महन्थ ठाकुर बने राष्ट्रिय सभा सदस्य
काठमाडौँः केही समय अघि जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी अन्य कलस्टरतर्फ ७ हजार ७२५ मत ल्याएर राष्ट्रिय सभामा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८०५ मत पाएका छन्।
उनी नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र जनमत पार्टीको गठबन्धनबाट उम्मेदवार थिए। उनी प्रतिनिधि सभाका निर्वतमान सदस्य हुन्।
महोत्तरीको पिपरा गाउँपालिका–एकरहिया घर भएका ठाकुर मधेश राजनीतिका सबैभन्दा अनुभवी र उतार–चढावपूर्ण यात्राका साक्षी नेता मानिन्छन्। उनले २०७४ र २०७९ सालमा लोसपाबाट प्रतिनिधि सभा सदस्यका रूपमा महोत्तरी-३ बाट चुनाव जितेका थिए।